Logo

अहिलेको सरकारको काम गर्ने क्षमता दक्षता छैन: केपी ओली



दैलेख, १७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाएका छन् ।

जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले क्षमता र दक्षता दुबै नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत कटौती गरेको आरोप लगाएका हुन् ।

‘मेरो सरकारले ग्रामीण भेगको विकासका लागि दुई सय १० वटा सडक शिलान्यास गर्‍यो तर अहिलेको सरकारको काम गर्ने क्षमता नहुँदा कटौती भयो,’ उनले भने , ‘अहिलेको सरकारले ढंग नभएर, क्षमता नभएर, काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजना काटेको छ । चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।’

अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छानामुक्त अभियान ल्याएको पनि बताए । सो क्रममा दैलेखमा पनि धेरै नागरिकका घर खरका छानामुक्त भएर जस्तापाता लगाएको उनको भनाइ थियो । उनले त्यसबेला बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

अध्यक्ष ओलीले अहिले पनि केही व्यक्ति अन्य पार्टीमा रहेकाले एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गरे । ‘एमालेको चाहाना देशको विकास गर्ने राष्ट्रलाई माया गर्ने रहेकाले राष्ट्रप्रेमीहरू एमालेमा आउनुपर्छ,’ अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्