Logo

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा



काठमाडौँ, १७ चैत । नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ ।

पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले हरायो । नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो ।

पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै टोनी उराले ४३, सेसे बाउले २५ रनको योगदान गरे भने नोरमान भानुअले १७ बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसीले ह्याट्रिससहित ५ विकेट लिए । त्यस्तै अविनास बोहरा र सोमपाल कामीले दुई-दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिए । यस्तै रोहित पौडेलले ४१, आशिफ शेखले ३८, मोहमद आदिलले ३१, कुशल भुर्तेलले १७, आरिफ शेखले २ तथा करण केसीले एक रन बनाए ।

बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले तीन, राइली हेकुरेले दुई तथा नोर्मान आनुअ र नोसैना पोकनाले एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्