Logo

प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिविहीन: ईश्वर पोखरेल



चितवन, २१ चैत । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्ति भाव देखाएको बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् ।

उनले नेपालको संसद्ले सर्वसम्मत रूपले पारित भएको नेपालको चुच्चे नक्सालाई बुच्चे बनाइएको भन्दै स्वाभिमानी मुलुकको प्रधानमन्त्रीका हिसाबले जसरी भ्रमणमा प्रस्तुत हुनुपर्थ्यो त्यो गर्न प्रधानमन्त्री नसकेको बताए ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिविहीन भएको उनको तर्क छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले केही उपलब्धि हासिल नगरेको प्रतिक्रिया दिए ।

“उहाँको भारत भ्रमणको उपलब्ध केही छँदै छैन । बरु नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर बनाउने काम गर्नुभएको छ”, उनले भने ।

नेपाल र भारतको सहमतिमा गठन भएको इपिजी प्रतिवेदनको विषय उठान नभएको भन्दै उनले राष्ट्रिय अडानलाई पनि प्रधानमन्त्री देउवाले प्रतिनिधित्व नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्