Logo

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड र तालाबन्दी



मकवानपुर, २२ चैत । मकवानपुरको बागमती गाउँपालिका-८ फापरबारीस्थित जनता माविका शिक्षकले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा विद्यार्थीहरुले तोडफोड र तालाबन्दी गरेका छन् ।

विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षकहरुले यौन दुर्व्‍यवहार गरेको भन्‍दै उनीहरुलाई निकाल्न माग गर्दै तोडफोड र तालाबन्दी गरेका हुन् ।

विद्यालयका तीन शिक्षकहरुले गलत नियतले छात्राहरुमाथि दुर्व्‍यवहार गरेको भन्‍दै फागुन ११ गते अभिभावकले र फागुन २० गते विद्यार्थीहरुले विद्यालय प्रशासनमा मौखिक उजुरी गरेका थिए ।

त्यसपछि पुनस् चैत ७ गते विद्यार्थी तथा अभिभावकले संयुक्त रुपमा चैत ७ गते लिखित तथा मौखिक उजुरी दिएको विद्यालयका प्रधानाध्यापक बसन्त राईले बताए ।

विद्यार्थी तथा अभिभावकको उजुरीपछि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले छानबिन गर्दा शिक्षकहरुको कमजोरी भेटिएपछि शिक्षकहरुलाई लिखित मौखिक स्पष्टीकरणसहित माफी माग्न लगाएर निलम्बन गरिएको थियो । तर विद्यार्थीहरुले विद्यालय प्रशासनको उक्त निर्णयमा असन्तुष्टी जनाउँदै आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीहरुले शिक्षकहरुलाई निष्कासन गर्नुपर्ने माग राखेपछि मंगलबार विद्यालय प्रशासन, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थीको संयुक्त बैठक बोलाइएको थियो । तर बैठक बसिरहेका बेला विद्यार्थीहरु बाहिर निस्केर विद्यालयमा तोडफोड गरेको प्रधानाध्यापक राईले बताए ।

प्रतिक्रिया दिनुहोस्