Logo

खाना पकाउने ग्यासको अभाव कायमै



काठमाडौँ, २४ वैशाख । बजारमा खाना पकाउने ग्यासको अभाव कायमै छ । उपभोक्ताले ग्यास सहजै पाउन नसकेको गुनासो गरेका छन् ।

बजारमा सहजै ग्यास नपाइँदा एउटा मात्रै सिलिन्डर भएका र विद्यार्थी बढी समस्यामा परेका छन् । देशभर ५९ वटा ग्यास कम्पनी छन् । झन्डै डेढ करोड सिलिन्डर बजारमा उपलब्ध छ । अहिले गर्मीको सिजन ग्यास कम खपत हुने सिजन पनि हो । तर समस्या देखिएको छ ।

थोरै उत्पादन गर्ने ग्यास कम्पनीको ग्यास समस्या भएको र अरु ग्यासमा व्यवसायीले लुकाएको समेत अनुगमनका क्रममा पाइएको नेपाल आयल निगमले जनाएको छ । ग्यास सहज गराउनु आफूहरुको दायित्व भए पनि यसको दीर्घकालीन समस्या समाधानका लागि सरकारी तहबाटै भण्डारण गर्नुपर्नेमा अहिलेसम्म नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

नेपालमा एलपीजी ग्यास निजी क्षेत्रले भण्डारण गर्दै आएको तर सरकारले भण्डारणको व्यवस्था गर्न नसकेकाले पटक-पटक समस्या हुने गरेको उनको भनाइ छ । एक महिनाअघि ग्यास उद्योगीहरूले बाह्य तथा आन्तरिक ढुवानी भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा प्रणाली कायम गर्न माग गर्दै आन्दोलन गरेका थिए ।

जसका कारण चैत ६ देखि दुई हप्तासम्म ढुवानीमा अवरोध हुँदा बजारमा ग्यास अभाव देखिएको निगमको दाबी छ । अलिकति असहज हुने बित्तिक्कै ग्यास पाइँदैन की भन्ने आशङ्काले उपभोक्ताले अनावश्यक सञ्चिति गर्ने भएकाले पनि एउटा मात्रै ग्यास सिलिन्डर हुनेहरु मारमा पर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्