Logo

श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुरमा



सिङ्गापुर, ३० असार । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष सिङ्गापुर पुगेका छन् ।

उनलाई नीति भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अनुमतिमा उनी सिङ्गापुर आएको मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् ।

साउदी विमानमार्फत् उनी माल्दिभ्सबाट सिङ्गापुर आएका स्थानीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् ।

राजापाक्ष शरणार्थीको रूपमा आएको हो वा होइन भन्ने बारेमा कुनै जानकारी नभएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । उनको गन्तव्य सिङ्गापुर नै हो वा फेरि अन्यत्र जाने हो भन्ने बारेमा पनि एकिन नभएको जनाइएको छ ।

आन्दोलनकारीले आफ्नो निवास कब्जा गरेपछि देशभित्रै अन्यत्र लुकेर बसेका राजापाक्षले बुधबार देश छाडेर माल्दिभ्स पुगेका थिए । त्यहाँ उनी एक दिन बसेर सिङ्गापुर आएका हुन् ।

उनले देश छोडेपछि राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्