Logo

जन माविले अख्तियार र सञ्चारमाध्यमको कार्यमा उठायो प्रश्न



कर्णाली, ३ भदौ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतको बीच बजारमा अवस्थित जन नमूना माविले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत र सञ्चारमाध्यमले लगाएको आक्षेप निराधार भएको बताएको छ ।

जन नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइराला, शिक्षक अभिभावक सङ्घका अध्यक्ष विमल नेपाली र प्रधानाध्यापक यामबहादुर श्रेष्ठद्वारा बिहिबार संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्ति सार्वजनिक गरी आयोग र समाचार माध्यमले लगाएको आरोपबारे ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “अख्तियारले बुधबार दिउँसो १ः०० बजे विद्यालयमा छापा मारी कर्मचारीलाई नियन्त्रणमा लिई पक्राउ गरेको र उनीहरूबाट बिना रसिद दुई लाख ७६ हजार छ सय ९० लिएको भनी विभिन्न समाचारमाध्यममा भ्रामक समाचार प्रसारण तथा प्रकाशन गरेकामा विद्यालयको ध्यानाकर्षण भएको छ । वास्तविकता नबुझी विद्यालयमाथि लगाइएको आक्षेप निराधार र कपोकल्पित भएको कुरा जानकारी गराउँदछौँ ।”

विद्यालयले सम्मानित अदालतको अपहेलना नगरेको बरु आदेशबमोजिम अभिभावकहरूको गत जेठ २ गते बसेको भेलाबाट स्वेच्छिकरूपमा दान, चन्दा लिएर विद्यालयकै पठनपाठनमा संलग्न निजी स्रोतबाट नियुक्त जनशक्तिलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेको छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने भने पनि राज्यले हालसम्म थप मानव स्रोत र भौतिक विकासको व्यवस्थापन नगर्दा दान चन्दा लिएरै बाध्यात्मक अवस्थामा विद्यालय सञ्चालन गर्नुपरेको विद्यालयले जनाएको छ ।

बुधबार आयोगले नियन्त्रणमा लिएको दुई लाख ७६ हजार छ सय ९० रुपैयाँ मध्ये ९३ हजार पाँच सय एसइई ग्रेडवृद्धि परीक्षा आवेदन फारम, १० हजार नौ सय रुपैयाँ पेटी क्यास, बालबालिकाको खाजाको भुक्तानी गर्न बाँकी २२ हजार सात सय ९० र एक लाख ४९ हजार पाँच सय अभिभावकको चन्दा, दानबाट सङ्कलन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्