Logo

केन्याविरुद्धको सिरिज विजेता राष्ट्रिय टोली स्वदेश फर्कियो



काठमाडौँ, २२ भदौ । केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएको हो ।

नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए । नेपालले केन्याविरुद्ध टी–२० र एकदिवसीय सिरिज खेलेको थियो ।

नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । यस्तै, ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो ।

केन्या भ्रमणमा एकदिवसीय सिरिजको कप्तानी सम्हालेका रोहित कुमार पौडेल प्रतियोगितामा नयाँ अनुभव प्राप्त भएको बताए । उनले आफूले कप्तानको भूमिकामा सबै खेलाडीको साथ पाएको बताए ।

त्यस्तै, खेलाडी ज्ञानेन्द्र मल्लले जुनसुकै भूमिकामा पनि देशका लागि खेल्दा खुसी नै लागेको बताए । लामो समयपछि टिममा आउँदा सुरुमा केही कठिनाइ भए पनि सन्तोषजनक खेल प्रदर्शन गरेको उनको भनाइ छ ।

नेपाल फर्किएका खेलाडी अब नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्