Logo

निजामति दिवसमा वक्तृत्वकला तथा ब्याडमिन्टन प्रतियोगिता



 

झापा, २२ भदौ । व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन नारासहितको निजामति कर्मचारी दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्र झापाले ब्याडमिन्टन तथा वक्तृत्वकला प्रतियोगिता गरेको छ ।

सरकारी कर्मचारीहरुको अन्तरनिहित क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य राखेर आज चन्द्रगढीमा आयोजना गरेकोे “संघीय शासन व्यवस्थामा सार्वजनिक सेवा प्रवाह” शीर्षकको बक्तृत्वकला प्रतियोगितामा कनकाई नगरपालिकाका कर्मचारी इन्द्र बजगाई प्रथम भएका छन् ।

उनलाई नगद रु १० हजार पुरस्कार स्वरुप प्रमुख अतिथि समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले प्रदान गरेका छन् । यसैगरी प्रतियोगितामा द्धितीय हुने मेची भन्सार कार्यालय काँकरभिट्टाका कर्मचारी टीका बहादुर थापाले नगद सात हजार प्राप्त गरेका छन् ।

केन्द्रले दिवसकै अवसर पारेर यही भदौ १९, २० २१ गते आयोजना गरेको व्याडमिन्टन प्रतियोगिताका प्रथम, द्धितीय र तृतीय हुनेलाई आजै पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा प्रथम हुने राष्ट्रिय बाणिज्य बैंक विर्तामोडका प्रज्वल ओझा, खगेन्द्र कन्दङवा, द्धितीय हुने नेपाल विद्युत प्राधिकरण दमकका धिरेन्द्र बजगाई, टंकप्रसाद उप्रेती, तृतीय हुने अर्जुनधारा नगरपालिकाका विपीन लम्साल, हेमराज सेडाईं र झापा जिल्ला अदालतका जिल्लान्याधिश चन्द्रमणि ज्ञवाली र रमेशप्रसाद प्रसाईँ रहेका छन् । उनीहरुलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद राशी पुरस्कार प्रदान गरिएको कर्मचारी मिलन केन्द्र झापाका अध्यक्ष रुद्र न्यौपानेले बताए ।

कार्यक्रममा जिसस प्रमुख बरालले निजामति कर्मचारीले सेवा प्रवाहलाई अब्बल बनाउन र कर्मचारीतन्त्रभित्र रहेको विकृति, विसंगति र कुसंस्कारको अन्त्य गर्न आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निजामति ऐन जारी नहुँदा कर्मचारीको वृत्ति विकास र प्रशासनिक सेवामा समस्या भइहरेको बताए । उनले कर्मचारीलाई सुशासनको अनुभति दिलाउने गरी सेवा प्रवाह गर्न समेत आग्रह गरे । आधिकारिक ट्रेड यूनियन झापाका अध्यक्ष लक्ष्मी गुरागाईं,केन्द्रका कोषाध्यक्ष दामोदर घिमिरेलगयातले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्