Logo

पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर



पोखरा, २३ भदौ । पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुई वटा भवनमा डोजर चलाएको छ ।

पोखरा-९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो ।

महानगर प्रमुख धनराज आचार्य, वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीसहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो ।

महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ ।

महानगरका यी दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन् । भवनका तला-तलामा ३० सटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ । भाडामा लगाइएका सटरलाई हट्न महानगरले सात दिनको दुईपटक र पुन: ३५ दिने सूचना दिएर आग्रह गरेको थियो । सूचनाको म्याद सकिएको भोलिपल्ट डोजर चलाउन सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्