Logo

सुत्ने ठाउँलाई लिएर फुटबल समर्थकहरू चिन्तित



कतार, ११ असोज । पछिल्लो २५ वर्षमा पल क्लेगले इङ्ग्ल्यान्डको फुटबल टोलीको खेल हेर्न कैयौँ देशहरूको यात्रा गरेका छन् । तीन वटा विश्वकप हेर्न गइसकेका उनी आफ्नो चौथो अर्थात् कतार विश्वकपमा सहभागिताको तयारीमा छन् ।

विगतका संस्करणमा जस्तै उनी प्रतियोगिताको समयमा इङ्ग्ल्यान्डका सबै खेललाई पछ्याउने योजनामा छन् । आफ्नो टोली अन्तिम दुईमा छनोट भएको खण्डमा सबै खेल हेर्न पाइयोस् भनेर उनले फाइनलसम्मकै टिकट लिएका छन् ।

उनका लागि सबैभन्दा ठूलो चुनौती आवास बनेको छ । प्रतियोगिताको अधिकांश अवधिमा कहाँ रात बिताउने भन्नेमा उनी प्रस्ट छैनन् ।

उनले भने, ‘मैलै पहिलो चार रातका लागि कोठाहरू लिएको छु र त्यसका लागि अति धेरै रकम तिरेको छु । मैले उचित मूल्यका विकल्प पाइनँ त्यही भएर त्यसपछि म कहाँ बस्छु मलाई थाहा छैन ।’

यो सङ्घर्षमा पल एक्ला होइनन् किनभने अरू हजारौँले यस्तै समस्या भोगिरहेका छन् ।

बीबीसीले अझैसम्म बस्ने ठाउँ निर्धारण गर्न नसकेका दुई दर्जनभन्दा बढी फुटबल समर्थकहरूसँग कुराकानी गरेको थियो। फुटबल विश्वकप सुरु हुन दुई महिनाअघि उनीहरूका चिन्ता बढिरहेको छ ।

आवास सम्बन्धी सुविधा बढाउन आयोजकहरूले खाली अपार्टमेन्ट, भिल्ला, फ्यानहरू बस्ने ठाउँ र मरुभूमिमा निर्माण गरिएका परम्परागत खालका टेन्टहरूमा एकभन्दा बढी व्यक्ति मिलेर बस्ने विकल्पहरू उपलब्ध गराइरहेका छन् ।

दोहाको बन्दरगाहमा राखिने दुई वटा क्रुज पानीजहाजलाई तैरने होटेलमा परिणत गरिएको छ । यी सबै कदमले बजारमा थप ७० हजार कोठा वृद्धि गर्ने ठानिएको छ ।

बीबीसीलाई दिएको विज्ञप्तिमा कतारको सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले उक्त खाडी राष्ट्रले प्रतियोगिताको समयमा एक पटकमा १ लाख ३० हजारसम्म कोठा उपलब्ध गराउने जनाएको छ।

‘यो फिफा विश्वकप कतार २०२२ का लागि यात्रा गर्ने समर्थक, टोली, प्रायोजकका लागि सहज हुने सङ्ख्या हो,’ उसले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्