Logo

महिला क्रिकेटमा पुलिसले जित्यो स्वर्ण



पोखरा, १ कात्तिक । नेपाल पुलिस क्लबको महिला क्रिकेट टोलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा पुलिसले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पाँच रनले पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

पहिलो पटक महिला टोली बनाएको पुलिसले डेब्यु प्रतियोगितामै एतिहासिक स्वर्ण पदक जित्न सफल भयो । पुलिसले राष्ट्रिय टोलीका कप्तान रुविना क्षेत्रीको कप्तानीमा पहिलो पटक महिला क्रिकेट बनाएको हो ।

जितको लागि पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८४ रनमा समेटियो । एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ रनको योगदान दिइन भने राजमती ऐरीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

एपिएफलाई ८४ रनमा समेट्नेक्रममा पुलिसकी ईश्वरी विष्टले २ तथा हिरन्माई रोय, सङ्गीता राई र कप्तान रुविना क्षेत्रीले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो । पुलिसका लागि काजल श्रेष्ठले २७ रन बनाइन भने सम्झना खड्काले २१ रन जोडिन । कविता जोशीले अविजित १३ रनको इनिङ खेल्दा कविता कुवँरले ११ रन बनाइन । यसैगरी कप्तान रुबिना क्षेत्रीले ८ रन बनाइन भने अप्सरी बेगमले अविजित २ रन बनाइन् ।

एपीएफका लागि नेरी थापा, ईन्दु बर्मा र कप्तान सीता राना मगरले समान १-१ विकेट लिए । यस हारसँगै एपीएफ रजत पदकमा चित्त बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्