Logo

इमरान खानको ज्यान बचाउन हमलाकारीसँग भिड्ने व्यक्ति को हुन् ?



काठमाडौँ, १९ कात्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बिहीबार एक बन्दुकधारीले गोली चलाउँदा उनी घाइते भए । त्यस घटना इमरानको पार्टी पाकिस्तान तहरिके इन्साफका एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना कार्यकर्ता घाइते भएका छन् ।

गोली प्रहार घटनाबाट इमरान खानको ज्यान जोगिएको छ । इब्तेसाम हसनले ठुलो घटना हुनबाट जोगाएका हुन् । हसनले पेस्तोलधारीसँग भिड्दा ठुलो घटना हुन नपाएको हो । हसनले पेस्तोल बोकिरहेका हमलाकारीको हात पकडिएर उनलाई निशाना लगाउनबाट रोकेका थिए । गोली हानिरहेका हमलाकारीलाई रोक्नका लागि तहरीके इन्साफका कैयौँ कार्यकर्ता सो व्यक्तितर्फ बढेका थिए । ती कार्यकर्तामध्ये एक जनाको मृत्यु भएको हो ।

तर इब्तेसाम हसन नाम गरेका एक जना सो दलका कार्यकर्ता हमलाकारीसँग भिडेका थिए । इब्तेसामले हमलाकारीलाई जोडले पकडेपछि हमलाकारीले गोली चलाउन विफल भएका थिए ।

घटनापछि सञ्चारमाध्यमसँग कुरा गर्दै इब्तेसामले आफू इमरान खान रहेको ठाउँदेखि केवल दश फिटको दूरीमा रहेको बताएका छन् । उनले भने, “हमलाकारी आए र उसले म्यागेजिन लोड गरेर तत्कालै गोली चलाउन थाले । म दौडिएर ऊतिर गएँ र उससँग भिड्न थाले । त्यसपछि गोली तल जमिनमा लाग्न थाल्यो ।”

उनले थपे, “मैले उसको पिस्तोल खोस्न चाहेको थिएँ तर तानातानमा त्यो तल खस्यो । त्यसपछि उसले भाग्न चाह्यो । मैले फेरी पकड्न प्रयास गरे । त्यसपछि प्रहरी आयो र उसलाई पक्रिएर लिएर गयो ।”

इब्तेसामले उक्त घटनाबारे पाकिस्तानका टिभी च्यानलहरूसँग पनि कुराकानी गरेका छन् । बोल न्यूजसँग कुरा गर्दै उनले हमलाकारी आफूलाई शङ्कास्पद लागेको र आफ्नो उद्देश्य चाहिँ खानमाथि गोली नलागोस् भन्ने रहेको बताए ।

उनले भने, “उसले पेस्तोल निकाल्ने बित्तिकै म ऊतर्फ दौडिएँ । उसले खान साहेबमाथि सिधा निशाना लगाउन पाइरहेको थिएन । यस्तोमा जुन हातमा उसले पेस्तोल लिएको थियो त्यसलाई मैले समाएँ । त्यसपछि पनि गोली चल्यो तर कसैमाथि पनि निशाना लागेन । मेरो उद्देश्य मेरो ज्यान बरु जाओस् तर खान साहेबको ज्यान बचोस् भन्ने थियो ।” बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्