Logo

चुनावी फण्डाबाट मतदाता प्रभावित हुनु हुँदैन: पोखरेल



काठमाडौँ, २१ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल घरदैलोमा व्यस्त छन् ।

सोमबार बिहान पोखरेल वडा नम्बर ४ का मतदातासँग मत मागिरहेका भेटिए । स्थानीयहरुले उनलाई सम्मानसहित भोट दिने प्रतिबद्वता व्यक्त गरिरहेका थिए । यस क्षेत्रका मतदाताहरु यसअघि पोखरेलले गरेका कामहरुबाट सन्तुष्ट रहेका पाइयो ।

बाँकी रहेका कामहरु पूरा गर्नका लागि पनि उनीहरुले पोखरेललाई स्मरण गराउँदै थिए । स्थानीय रामकुमार राजोपाध्यायले ईश्वर पोखरेललाई बाहेक अन्यलाई यसअघि पनि मत नदिएको र अब पनि ईश्वर पोखरेललाई नै दिने बताए । ‘आजसम्म उहाँलाई नै भोट हाल्दै आएको र यो पटक पनि उहाँलाई नै दिने हो’ उनले भने ।

स्थानीयले पोखरेललाई केही सुझाव पनि दिइरहेका थिए । ‘देश विकासको एजेण्डा बोकेको पार्टी एमाले मात्रै हो । यो कुरा सबैलाई थाहा भइसकेको छ । यो कुरा युवाहरुलाई पनि बुझाउनुपर्ने आवश्यकता छ । यहाँले जितरे आएपछि युवाहरुले विशेष कार्यक्रम ल्याएर अगाडि बढ्नुहोला, जीतको शुभकामना !’ एक स्थानीयले पोखरेललाई भने । पोखरेलले मतदाताका सुझावलाई आफूले शिरोपर गर्दै अगाडि बढ्ने वचनबद्वता व्यक्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावका बेला अनेक पात्रहरुले सिर्जना गर्ने फण्डाबाट प्रभावित नहुन मतदाताहरुलाई आग्रह गरिरहेका थिए । कसले के भन्छ भन्दा पनि जनतासमक्ष कसरी चिनिएका छौँ भन्ने मुख्य कुरा भएको बताउँदै उनले भने- हामी जे हौँ जनता समक्ष खुलस्त छौँ । जनताको पक्षमा काम गर्न क्रियाशिल छौँ । यस्ता चुनावी फण्डाबाट जनता प्रभावित हुनुहुँदैन् ।’

प्रतिक्रिया दिनुहोस्