Logo
  चैत्र १५, २०८० बिहीबार

एमालेको उम्मेदवार हुँदा सँधै जित निकाल्ने खनाल सहकर्मीसँगको प्रतिस्पर्धामा



इलाम, २४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट छैठौं जितका लागि प्रत्याशी भएका छन् । उनी नेकपा (एमाले)का महेश बस्नेतसँगको प्रतिस्पर्धामा छन् ।

नेता खनाल इलामबाट सातौँ पटक चुनाव लड्दै छन् । छ पटक विजयी भइसकेका खनाल एकपटक कांग्रेसका उम्मेद्वार बेनुपराज प्रसाईंसँग पराजित भएका थिए । विसं २०४८ पछिका छ मध्ये पाँचवटा चुनाव जितेका दनाल छैटौँ जितको प्रतीक्षामा छन् ।

विसं २०४८ को आमनिर्वाचन विजयी बन्दै संसद् भवन छिर्ने अवसर पाएका नेता खनाल त्यसयता २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । उनी २०५६ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने पराजित भएका थिए । नेकपा एमाले विभाजित भई बामदेव गौतमको नेतृत्वमा बनेको तत्कालीन नेकपा मालेबाट उम्मेदवार भएका खनाल नेपाली कांग्रेसका प्रसाईसँग पराजित भएका थिए ।

एमालेबाट उम्मेदवार बन्दा सँधै विजयी बनका खनाल यस पटक पुनः एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका छन् । २०५६ सालमा कांग्रेस, एमालेसँग एकल प्रतिस्पर्धा गर्नु परेको थियो भने यस पटक कांग्रेस, माओवादी केन्द्रलगायतका साना दलको समर्थन रहेको छ ।

विसं २०७४ को चुनावमा नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका खनाललाई यस पटक तिनै उम्मेद्वारसहित दलको साथ रहेको छ । पूर्व सहकर्मी तथा हाल एमाले जिल्ला अध्यक्ष बस्नेतसँगको भीडन्त खनालका लागि उति सहज भने पक्कै छैन ।

नेता खनालले यो आफ्नो अन्तिम प्रतिस्पर्धा भएको बताएका छन् । इलाममा जन्मिएका उनी २०४६ को जनआन्दोलनपछिको अन्तरिम सरकारमा वन तथा वातावरणमन्त्री भएका थिए । विसं २०५३ मा सूचना तथा सञ्चारमन्त्री बनेका उनी २०६७ माघ २० गते प्रधानमन्त्री बनेका थिए ।

गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षले पाएको दलगत रूपमा प्राप्त मत हेर्दा एमालेले २६ हजार दुई सय ३३ मत पाएको छ । नेपाली कांग्रेसले २५ हजार सात सय मत पाएको थियो ।

त्यस्तै एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवारले नौ हजार चार सय ८१, जनता समाजवादी पार्टीले एक हजार आठ सय २९, नेकपा (माओवादी केन्द्र)ले एक हजार दुई सय ३५ र राप्रपाले एक हजार एक सय ६९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्