Logo

मलेशियामा पहिरो: मृत्यु हुनेको संख्या १९ पुग्यो



मलेशिया, १ पुस । मलेशियाको सेलाङ्गोर राज्यस्थित एउटा पर्वतीय क्षेत्रमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

त्यस्तै ६० जनाभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । उनीहरू त्यहाँ बिदा मनाउन गएका थिए ।

बताङ काली नगरअन्तर्गत पर्ने उक्त स्थलमा स्थानीय समयानुसार शुक्रवार बिहान ३ बजे पहिरो गएको थियो। त्यतिबेला छुट्टी मनाउन गएका मानिसहरू पालभित्र सुतिरहेका थिए ।

सयौँ उद्धारकर्मीहरूले माटो खोतल्दै जीवित व्यक्ति खोज्ने र उद्धार गर्ने प्रयास गरिरहेका छन्। उक्त मनोरञ्जनस्थलमा पहिरो जाँदा ९० जनाभन्दा बढी मानिस रहेको बताइएको छ ।

शिविर सञ्चालकले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएअनुसार त्यहाँ कम्तीमा ३० बालबालिका र ५१ जना वयस्कको नाम बास बस्नेगरी दर्ता भएको थियो । उक्त शिविरभन्दा करिब ३० मिटर माथिको भीरबाट खसेको पहिरो एक एकड क्षेत्रमा फैलिएको थियो ।

मलेशियाका उद्धार गर्ने संस्थाहरूले अनलाइनमा सार्वजनिक गरेका तस्बिरहरूमा हेल्मेट लगाएका उद्धारकर्मीहरू क्षतविक्षत भएको भुइँ, उखेलिएका रूख र अन्य अवरोध पन्छाउँदै काममा खटेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्