Logo

पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा देशव्यापी प्रदर्शन



भारत, २ पुस । भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ ।

शनिबार महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौँ भाजपा कार्यकर्ता र नेताहरू हातमा प्लेकार्ड लिएर प्रमुख स्थानमा भेला भएर पाकिस्तानका विदेशमन्त्रीले प्रधानमन्त्री मोदीविरूद्ध गरेको अपमानजनक टिप्पणीको विरोध गरे । उनीहरूले पाकिस्तान र पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै उनीहरुविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

भाजपा राज्य अध्यक्ष चन्द्रशेखर बावनकुलेले पुणेमा विरोध प्रदर्शनको नेतृत्व गरेभने मुम्बईका विभिन्न भागमा एकत्र भएका सयौँ भाजपा कार्यकर्ता र नेताले प्रदर्शन गरे। उनीहरूले पाकिस्तान सरकार र विदेशमन्त्रीको आलोचना गर्ने गीत पनि बजाएका थिए ।

बिलावल भुट्टो जरदारीले मोदीविरुद्ध गरेको अपमानजनक टिप्पणीले देशभर आक्रोश सृजना गरेको छ । भाजपाले देशभरका सबै राज्यको राजधानीहरूमा विरोध प्रदर्शन गरिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी मन्त्रीले गरेको अपमानजनक टिप्पणीपछि भारतभर आक्रोश छाएको छ । भाजपाले बिलावल भुट्टोको टिप्पणीलाई अतिअपमानजनक र कायरताले भरिएको भन्दै पाकिस्तानको ध्वस्त अर्थव्यवस्था, अराजकता तथा त्यहाँ व्याप्त अराजकताबाट विश्वव्यापी ध्यान अन्यत्र मोड्न गरिएको बताएको छ ।

भाजपाले एक वक्तव्य निकालेर पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगत्मा पाकिस्तानको प्रतिष्ठा घटाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्