Logo

सुनवल १ सय ३२ केभी सबस्टेसन सञ्चालनमा



नवलपरासी, ३ पुस । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका-७ मा निर्माण गरिएको सुनवल १ सय ३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।

परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल १ सय ३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी  सञ्चालनमा ल्याइएको छ ।

अहिले सञ्चालनमा रहेको पूर्व-पश्चिम १ सय ३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १ सय ३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ ।

सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टील, सिमेन्टलगायतका उद्योगहरु तथा स्थानीय उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परासी क्षेत्रका सिमेन्ट, स्टीललगायतका ठूला उद्योगहरु र स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड भएको बताए ।

प्रतिक्रिया दिनुहोस्