Logo

उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार



कोरिया, ३ पुस । प्योङयाङले नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि आइतबार दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

प्योङयाङले गत महिना अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव ह्वात्तै बढेको छ ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले उत्तर प्योङगान प्रान्तको तोङचाङ-री क्षेत्रबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र फेला परेको पुष्टि गरेका हुन् ।

उनका अनुसार ती क्षेप्यास्त्रहरू स्थानीय समयअनुसार बिहान ११:१३ देखि अपराह्न १२:०५ बजेसम्म पूर्वी सागरमा प्रहार गरिएको थियो । जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो सेनाले संयुक्त राज्य अमेरिकासँग नजिकबाट सहकार्य गर्दै निगरानी र सतर्कतालाई बलियो बनाएको छ ।”

जापानको रक्षा मन्त्रालयका अनुसार उक्त क्षेप्यास्त्र करिब ५०० किलोमिटरको उचाईमा पुगेको थियो ।

“यसले जापान, यस क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पार्छ र यो बिल्कुलै अस्वीकार्य कार्य हो,” वरिष्ठ उपरक्षामन्त्री तोशिरो इनोले भने ।

उत्तर कोरियाले ‘हाई थ्रस्ट सोलिड फ्युल मोटर’ को परीक्षण गरेको केही दिनपछि आइतबारको प्रक्षेपण भएको हो । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले यसलाई ‘अर्को नयाँ प्रकारको रणनीतिक हतियार प्रणालीको विकासका लागि’ महत्वपूर्ण परीक्षणका रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्