Logo

बेलायतमा स्कार्लेट ज्वरोले ३० हजार विरामी, १६ जना बालबालिकाको मृत्यु



बेलायत, ६ पुस । बेलायतमा स्कार्लेट ज्वरोले हजारौँ विरामी भएका छन् । बेलायतमा यो ज्वरोका ३० हजार विरामी फेला परेका छन् र १६ बालबालिकाको मृत्यु भएको छ ।

बेलायतको स्वास्थ्य सुरक्षा संस्थाले गत साता मात्रै स्कार्लेट ज्वरोबाट १० हजार विरामी परेको जानकारी दिएको थियो ।

स्वास्थ्य संस्थाले उक्त ज्वरो यूरोप हुँदै अमेरिका पुग्ने चेतावनी दिन थालेका छन् ।​ उक्त संस्थाकी प्रमुख स्वास्थ्य सल्लाहकार प्रोफेसर सुसन हकिन्सले यो निकै डरलाग्दो भएको बताएकी छन् । यो तीन गुणा बढी भएको उनको भनाइ छ ।

गार्डियनको रिपोर्ट अनुसार सेप्टेम्बर १२ यता २७ हजार मानिस यो ज्वरोबाट संक्रमित भएका छन् । अनुमानविपरीत अत्यधिक मात्रामा विरामी भेटिएको जनाइएको छ । स्थानीय अधिकारी र स्वास्थ्य सुरक्षा टोलीलाई जानकारी गराउने चिकित्सकबाट यो तथ्याङ्क आएको हो ।

स्कार्लेट ज्वरो ब्याक्टेरियाको कारणले हुन्छ । यसले घातक संक्रमण निम्त्याउन सक्छ। स्कार्लेट ज्वरो जीवाणु संक्रमण हो । यो ज्वरो ग्रुप ए स्ट्रेप ब्याक्टेरियाबाट फैलने गर्छ। यो संक्रमण भएका वेला उच्च ज्वरो आउँछ । शरीरको तापक्रम निकै बढ्छ । घाँटीमा खसखस हुनुका साथै गर्धनको नसा सुन्निने हुन्छ । लगभग १२ देखि ४८ घण्टापछि शरीरमा राता बिबिरा देखा पर्दछन् । यस्ता बालबालिकाले बान्ता पनि गर्न सक्छन् । उक्त ज्वरोबाट ५ वर्षदेखि १५ वर्षका बालबालिका प्रभावित हुन्छन् ।

उक्त ज्वरोबाट संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिमा छिटै सर्ने गरेको चिकित्सकहरूले बताएका छन् । सामान्यतया २ देखि ५ दिनभित्र अरूलाई संक्रमण हुने गर्छ । हाच्छ्यूँ‚ र्‍याल र कफबाट यो रोग फैलन्छ । समयमै उपचार हुन नसके यसले मिर्गौला‚ कानमा समस्या ल्याउनुका साथै, निमोनिया र आर्थराइटिस हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्