Logo

सरकारमा जाने विषयमा जसपाले राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने



काठमाडौँ, १२ पुस । ‘पर्ख र हेर’को रणनीति लिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि जसपाले सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन । आउँदो १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा यसबारेमा छलफल हुने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाले अहिलेसम्म पार्टीको संसदीय दलको नेता समेत चयन गरेको छैन । प्रतिनिधि सभामा जसपाको १२ सिट रहेको छ ।

प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जसपासहित ७ दल र तीन स्वतन्त्र सासंदको समर्थन रहेको छ । नयाँ गठबन्धनमा रहेका दलमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।

त्यस्तै तीन जना स्वतन्त्र सांसदले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका छन् । सरकारलाई समर्थन गरेका ७ मध्ये ३ दल जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा सहभागी छैनन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्