Logo

अमेरिकामा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो



अमेरिका, १२ पुस । अमेरिकामा चिसो सिरेटो र हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या ५६ जना पुगेको छ ।

चिसोका कारण न्युयोर्कमा २८ जनासहित मृत्यु हुनेको सङ्ख्या ५६ जना पुगेको बीबीसीले जनाएको छ ।

मानिसहरू घरभित्रै तथा गाडीमै मृत भेटिएका छन् । हिमआँधी अर्थात् चिसो सिरेटोसँगै हिमपात हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । सबैभन्दा बढी प्रभावित भएको बफेलो सहरका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताएका छन् ।

ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्रहरू पनि नराम्रोसँग प्रभावित भएका छन् ।

सरकारी अधिकारीहरूले अत्यावश्यक नपरि घरबाहिर ननिस्किन सुझाव दिएका छन् । हिमपात क्यानडादेखि मेक्सिकोको सिमानासम्म फैलिएको छ । हिउँले सडकहरू बन्द भएका छन् भने सयौँ उडानहरू रद्द गरिएको छ । विभिन्न ठाउँमा लामो समयसम्म बिजुली सेवा बन्द भएको छ । चिसो घट्न अझै केही दिन लाग्ने मौसमविद्हरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्