Logo

अनुदानका चुला भए बेवारिसे



हुम्ला । सिमकोटका बासिन्दाका लागि निःशुल्क उपलब्ध गराउन ल्याइएका ३५७ वटा सुधारिएका चुला नौ महिनादेखि खार्पुनाथमा बेवारिसे बनेका छन् । गत वैशाखमा ती चुलालाई सलिसल्लाबाट खच्चडमा ढुवानी गरिएको थियो । ढुवानीको जिम्मा पाएको कम्पनीले खार्पुनाथ गाउँपालिकामा थन्क्याइदिएपछि ती चुला बेवारिसे बनेका हुन् ।

खार्पुनाथ गाउँपालिकाकी कार्यपालिका सदस्य जसमती शाहीले सिमकोट गाउँपालिकाका लागि ल्याइएका चुला आफ्नो घरछेउमा बेवारिसे अवस्थामा राखिएको बताइन् । “गत वैशाखमा ती ल्याइएका थिए । ती कसका लागि ल्याइएका हुन् भन्ने थाहा हुन सकेको छैन,” उनले भनिन् । तीमध्ये ११७ थान खार्पुमा त्यत्तिकै मिल्काइएको छ भने २४० थाना ट्याक्टरमालिक कुल रावतले सिमकोट लगेको भए पनि हालसम्म कसैलाई दिएको छैन। उनले ती चुलो खार्पुबाट ट्याक्टरमा राखी सिमकोट ल्याएकी थिइन् । ती चुला आफ्नो घरमा राखेकी छिन् ।

चुलामा ‘नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा लक्षित वर्गमा वितरण’ भनी लेखिएको छ । चुला सिमकोट गाउँपालिकाका लक्षित वर्गका लागि ल्याइएको भए पनि कुुन वडा वा बस्तीका लागि ल्याइएका हुन् भन्ने यकिन भएको छैन । उता खार्पुमा खुला आकाशमुनि बेवारिसे बनाइएका चुला घामपानीका कारण खिया लागिसकेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक रणबहादुर थापाले गत आर्थिक वर्ष २०७७(७८ मा सिमकोट गाउँपालिकाका लागि छनोट भएका घरधुरीका लागि टेन्डर प्रक्रियाद्वारा छनोट गरी ती चुला खरिद गरिएको बताए । उनका अनुसार सिमकोटसम्म पुर्याउन जिम्मा लिएको कम्पनीले लक्षित वर्गलाई वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

उनले प्रतिचुलो आठ हजार पाँच सयका दरले एक हजार ११६ घरधुरीका लागि वितरणको जिम्मा गाल्भा निर्माण सेवासंँग सम्झौता भएको जानकारी दिए । अझै ७५९ चुलाको अत्तोपत्तो छैन । सो कार्यक्रमका लागि केन्द्रले ९४ लाख ९४ हजार पाँच सय रुपियाँ लगानी गरेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सोबारे सुरुमा आफूलाई केही पनि थाहा नभएको र धेरैले जिज्ञासा राख्न आएपछि फाइल खोज्ने क्रममा ती चुला वितरण कार्य सम्पन्न भइसकेको थाहा पाएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्