Logo

टिकटक लाइभमा जुवा खेलाउने चार जना पक्राउ



काठमाडौँ, २८ पुस । भिडियो शेयरिङ एप टिकटकमा लाइभमा आएर जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका-३ घर भइ ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुर सूर्यविनायक नगरपालिका १० का २७ वर्षीय कपिल गिरी, मध्यपुर थिमि नगरपालिका-६ घर भइ मध्यपुर -१ का २१ वर्षीय प्रेम कठायत र कैलाली गौरीगंगा नगरपालिका-६ घर भइ मध्यपुर थिमि बस्ने २० वर्षीय डिल्लीराज अवस्थी छन् ।

उनीहरूले काठमाडौँ उपत्यकाभित्र आफ्नो ई-सेवा लगायतका डिजिटल वालेटमा विभिन्न व्यक्तिहरूलाई पैसा जम्मा गर्न लगाइ जुवा खेलाउने गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई गएको मङ्गलवार काठमाडौँ उपत्यकाका ग्वार्को, सूर्यविनायक, लोकन्थली लगायतका ठाउँबाट पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी वृत्त जगाती र ठिमी पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्