Logo

सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने पत्र काठमाडौँ अदालतमा



काठमाडौँ, २९ पुस । उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौँ आइपुगेको छ ।

लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौँ जिल्ला अदालतमा आइपुगेको बताए ।

उनले पत्र आइसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको र २० लाख धरौटी बुझाएपछि अदालतले थुनामुक्त गर्नका लागि पत्र लेखिदिने जानकारी दिए । सामान्यता प्रक्रिया पूरा गर्दा पनि लामिछानेलाई थुनामुक्त हुन दिउँसो चार बज्ने देखिएको उनले बताए ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्