Logo

राष्ट्रपति चयनको विषयलाई लिएर माओवादी र एमालेबीच विवाद बढ्दै



फायल तस्बिर

काठमाडौँ, १७ माघ । निर्वाचन आयोगले राष्ट्रपति चुनावको मिति तोके पनि सत्तारुढ दलले उम्मेदवारमा सहमति गर्न सकेका छैनन् । सहमति नबन्दा सत्ता सहकार्यको एक महिनामै माओवादी केन्द्र र एमालेबीच खटपट सुरु हुन थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्ने बताइरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सहमति अनुसार राष्ट्रपति एमालेलाई नै दिनु पर्ने अडान राखेका छन् । उनले एमाले बाहेकका उम्मेदवारमा सहमति हुने सम्भावना नरहेको बताएका छन् । तर, माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमा नै जोड दिइरहेकाले एमाले सशङ्कित बनेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि राष्ट्रिय सहमति अनुसार नै राष्ट्रपति चयन गर्नु पर्ने धारणा राखेपछि एमाले सशङ्कित भएको हो । यस्तै, पद मुक्त भएका रवि लामिछानेलाई फेरि गृहमन्त्रालय दिने कि नदिने भन्ने विषयमा पनि माओवादी र एमालेभित्र विवाद भएको छ ।

एमाले गृह मन्त्रालय लामिछानेलाई दिने पक्षमा उभिएको छ भने प्रधानमन्त्री प्रचण्ड आफैँ राख्ने पक्षमा छन् । सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि रिक्त रहेको गृह मन्त्रालय आफैँले राख्ने प्रचण्डको तयारी छ ।

प्रचण्डलाई पार्टीभित्रबाट पनि माओवादीले नै गृह राख्नुपर्ने दबाब परेको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको छ । पद मुक्त भएका लामिछानेले प्रक्रिया पूरा गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिइ सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्