Logo

हात्तीपाइले विरुद्धको औषधि थप पाँच दिन खुवाइने



झापा, २५ फागुन । सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ ।

आजसम्म खुवाइने भनेता पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जानकारी दिए । यसअघि यही फागुन ११ देखि सुरु भएको अभियान आज फागुन २५ गतेसम्मका लागि मात्र तोकिएको थियो ।

उनले अभियानका क्रममा धेरै बिदा भएकाले कोही नछुटुन् भनेर भोलिदेखि पुन: पाँच दिन अभियानलाई निरन्तरता दिने बताए ।

हात्तीपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा यही फागुन ११ गतेदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थल, घर-घरमा पुगेरमा खुवाइएको छ ।

महाशाखाले चार जिल्ला बारा, लमजुङ, पर्वत र बागलुङमा दुई प्रकारको औषधि र ११ जिल्लामा झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, रसुवा, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा तीन प्रकारको औषधि खुवाएको छ ।

महाशाखाका महानिर्देशक डा दासले चार जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण नदेखिएकाले दुई प्रकारको औषधि र ११ जिल्लामा समुदायस्तरमा सङ्क्रमण देखिएकाले तीन प्रकारको औषधि खुवाउनु परेको बताए । उनका अनुसार अहिलेसम्म ७९ प्रतिशत औषधि खुवाइएको छ ।

नेपालमा ४४ जिल्लामा गरिएको हात्तिपाइले रोगको रुग्णता मापन अध्ययनले ३१ हजार २९ जनालाई सङ्क्रमण देखिएको छ । अन्य जिल्लाको अध्ययन भइरहेको छ । सरकारले औषधि नि:शुल्क उपलब्ध गराउने गर्दछ । सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्