Logo
  चैत्र १८, २०७९ शनिबार

माओवादी एकता प्रयासमा धक्का  !



काठमाडौँ, १ चैत । विस्तृत शान्तिसम्झौतापछि माओवादीबाट विभाजित भएर बनेका दलहरूबीचको एकता प्रयासमा धक्का लागेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा दायर भएपछि उनीहरू एकै ठाउँमा उभिने प्रयासमा लागेका थिए ।

दाहालविरुद्ध मुद्दा लगाएर द्वन्द्वकालीन घाउ ब्युँताउन खोजेको भन्दै झस्किएका माओवादीका विभिन्न घटकका नेताहरूले एकै ठाउँमा बसेर प्रतिकार गर्ने उद्घोष गरेका थिए । तर संक्रमणकालीन न्यायबारे उनीहरूले मंगलबार गर्ने भनेको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तक्र्रिया अचानक स्थगित भएको छ । कार्यक्रम समय र स्थान व्यवस्थापन हुन नसक्दा स्थगित भएको बताइए पनि माओवादीका विभिन्न घटकका नेताहरू नै आउन आनाकानी गरेपछि स्थगित गर्नुपरेको स्रोतको दाबी छ ।

गत शुक्रबार बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्तिसम्झौताबारे संयुक्त पत्रकार सम्मेलन, नागरिक अगुवा तथा बुद्धिजीविसँग छलफल र अन्तक्र्रिया गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मंगलबारको कार्यक्रम तय भएको थियो । यसअघि माओवादी धारका पार्टीहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा मोहन वैद्य, गोपाल किराती, धर्मेन्द्र बास्तोला अनुपस्थित भएका थिए । नेकपा माओवादी केन्द्र, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले स्थान र समय व्यवस्थापन गर्न नसकिएका कारण मंगलबारको अन्तरक्रिया कार्यक्रम स्थगित भएको बताए । स्रोतले भने एकआपसमा कुरा मिल्न नसक्दा अन्तक्र्रिया कार्यक्रम स्थगित भएको दाबी गर्दै यसले एकता प्रयासमा बाधा निम्त्याउन सक्ने बतायो । दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा परेपछि विभिन्न समूहमा विभक्त पूर्वमाओवादी नेताहरू एक ठाउँमा उभिने कसरतमा लागेका थिए । तर दुईवटा संयुक्त कार्यक्रम गर्न नपाउँदै उनीहरूको प्रयासमा धक्का पुगेको स्रोतले बतायो ।

मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ । फागुन २३ गते बसेको माओवादीका आठ घटकको बैठकले शान्तिप्रक्रियालाई टुंगो लगाउने विस्तृत शान्तिसम्झौतालाई नै धरापमा पार्ने काम हुन थालेको भन्दै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । त्यसपछि २६ गते बसेको दोस्रो बैठकले संयुक्त पत्रकार सम्मेलन र संक्रमणकालीन न्यायका विषयमा नागरिक अगुवासँग अन्तक्र्रिया गर्ने निर्णय गरेको थियो । तर संयुक्त पत्रकार सम्मेलनमा प्रस्तुत गरिने विज्ञप्तिको मस्यौदा भाषामा कुरा नमिलेपछि मोहन वैद्य, धर्मेन्द्र बास्तोला र गोपाल किराती अनुपस्थित भएका थिए ।

माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा तयार मस्यौदालाई प्रधानमन्त्री दाहालले आफूअनुकूल बनाएपछि वैद्य, किराती र बास्तोला चिढिएका हुन् । ‘प्रधानमन्त्री दाहालले महराले बनाएको मस्यौदा संशोधन गरेको भन्दै उहाँहरू असन्तुष्ट हुनुहुन्छ,’ स्रोतले भन्यो । तर वैद्य, किराती र बास्तोलाले पत्रकार सम्मेलनमा अनुपस्थित हुनुको कारण खोलिसकेका छैनन् ।

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, बास्तोला नेतृत्वको नेकपा बहुमत र किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीले मंगलबारका लागि तय गरिएको कार्यक्रममा पनि उपस्थित हुन नसक्ने जानकारी नेकपा माओवादी केन्द्रलाई गराएका थिए ।

पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल सहभागी नभएको विषयमा पनि वैद्यलगायतले असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव देवेन्द्र पौडेललगायतका नेता उपस्थित थिए । पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल, वैद्य, किराती र बास्तोला सहभागी नभएपछि त्यसको औचित्यमा प्रश्न उठेको बताइएको थियो । आजको नागरिक दैनिकमा मिाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्