Logo

निजी विद्यालय छोड्दै धमाधम देवी माविमा भर्ना हुँदै विद्यार्थी



बिर्तामोड, १३ वैशाख । नेपाली समाजमा सरकारी र निजी विद्यालयबीचमा निकै ठूलो खाडल रहेको छ । सरकारी विद्यालयमा शैक्षिक गुणस्तरीयताका विषयमा अभिभावकहरुको एक किसिमको गुनासो देखिन्छ । जसका कारण प्रायले ऋण गरेर भए पनि आफ्ना छोराछोरीलाई निजी विद्यालय नै पढाउँछन् । तर झापामा रहेको एउटा सामुदायिक विद्यालयमा भने शैक्षिक सत्र २०८० को भर्ना अभियानमा केही फरक दृश्य देखियो ।

झापाको बिर्तामोड नगरपालिका वडा नं.५ मा अवस्थित देवी माध्यमिक विद्यालय भने विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थी तथा अभिभावकहरूको आकर्षण बढेको हो ।

विद्यालयमा नेपाली माध्यमबाट मात्र नभएर अंग्रेजी माध्यमबाट पनि गुणस्तरीय शिक्षा प्रदान गरिने भएकाले विशेषगरी झापाका दक्षिणी भेग तथा पहाडी क्षेत्रबाट मात्र नभएर छिमेकी देश भारतका विभिन्न जिल्लाबाट अभिभावकहरु आफना छोराछोरी लिएर विद्यालय आउने गरेको सहायक प्रधानाध्यापक लिलाप्रसाद भण्डारीले जानकारी दिए ।

विद्यालयको रमणीय वातावरण, सुविधा सम्पन्न कक्षा कोठा, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट, देवी माविको शिक्षा यहाँको भूगोलमा मात्र नभएर सबैतिर परिचित हुनुका साथै विशेषगरी माथिल्लो कक्षामा विद्यार्थीहरुको आकर्षण भएकाले निजी विद्यालयहरु छोड्दै विद्यार्थीहरु यहाँ आउने गरेको भण्डारी बताउँछन् ।

उनी भन्छन् “हाम्रो विद्यालयमा विद्यार्थीलाई पढौँपढौँ लाग्ने वातावरण, शिक्षालाई मात्र नभएर अतिरिक्त क्रियाक्रलापलाई प्राथमिकतामा राखेर विद्यार्थीहरुको रुची अनुसारका क्रियाकलापमा सहभागी गर्ने गर्दछौँ भने अर्कातिर निजी विद्यालयमा पैसा तिर्ना नसकिरहेको बोझका कारण र गुणस्तरीय शिक्षा लिन तथा बाध्यत्मक कारण विद्यार्थीहरु आउने गरेको भण्डारी बताउँछन् ।”

आफनो सानो नानी लिएर विद्यालयमा भर्ना गर्न आएकी अभिभावक यमुना वर्देवा भन्छिन् “पहिले देखि नै देवि माविमा पढाउने रहर भएकाले आफनो नानी यस विद्यालयमा पढाउन पाउँदा धेरै खुसी लागेको छ ।”

मलाई यस विद्यालय राम्रो लाग्ने मात्र नभएर शिक्षा प्रदान गर्ने शिक्षकहरुको लगनशीलता र पढन् लोभ लाग्दो वातावरण भएकाले आफनो भाइलाई निजी विद्यालयबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गर्न ल्याएको मारुती थाम्सुहाङ्ग सुनाउँछिन् ।

सरकारी विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण कम हुँदै गएको हल्ला समाजमा व्यापक रहेको विषयलाई शैक्षिक अभियान्ता तथा निवृत्त स्वास्थ्यकर्मी अमृत कार्की भने खण्डन गर्छन् ।

उनी भन्छन् “देवी माविजस्ता उत्कृष्ट विद्यालयहरु नेपालमा धेरै रहेका छन् । निजी विद्यालयले घोकन्ते शिक्षालाई मात्र जोड दिने तर सामुदायिक विद्यालयमा पढेको विद्यार्थी चलाख साथै हरेक क्षेत्रमा सरकारी विद्यालयमा पढेको विद्यार्थीको मान्यता पनि हुने गरेकाले सामुदायिक विद्यालयमा पढाउन अभिभावकहरुलाई प्ररित गर्न अभियान नै सञ्चालन गरेको कार्की बताउँछन् ।”

अभिभावक मात्र नभएर विद्यार्थीहरु पनि देवी माविको राम्रो सिकाइको चर्चा सुनेर आफूले पढदै गरेको विद्यालयलाई छोडेर यहाँ पढन् आएको विद्यार्थी महोम्मद समिर अन्सारी बताउँछन् ।

उनी भन्छन् “सबैतिर देवी माविकै चर्चा सुनेर आफूले पढदै गरेको विद्यालयलाई छोडेर यहाँ पढन् आफू मात्र नभएर धेरै साथीहरु आएको बताए ।”

विद्यार्थी अनिसा शेख भन्छिन् “देवी मावि पढाइको क्षेत्रमा मात्र नभएर अनुशासन र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यालय भएकाले आफू देवी मावि अध्ययन गरेको र कोही अभिभावकहरु आफना छोराछोरी कहाँ पढाउने भनेर अलमल भएको भए यहाँ ल्याएर ढुक्क भएर भर्ना गर्न आग्रह समेत गर्छिन् ।”

सहायक प्रधानाध्यापक भण्डारीका अनुसार विद्यालयसँग आवश्यक शिक्षक र संरचनाले भएकाले अझ बढी विद्यार्थीहरु भर्ना गर्न क्षमता भएकाले गाउँगाउँमा पुगेर पढने अवसरबाट टाढा भएकालाई प्रेरित गर्न अभियान सञ्चालन सुरु गरेको उनी बताउँछन् ।

हरेक बालबालिकाहरुले अनिवार्य पढ्नै पर्छ भन्ने मानसिकता अभिभावकलाई बनाउन केन्द्र, स्थानीय र प्रदेश सरकारले आवश्यक साथ सहयोग गरे कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुनु नपर्ने उनको तर्क रहेको छ ।

देवी मावि जस्ता सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सरकारको थप लगानी हुन सके शैक्षिक गुणस्तर अझ समृद्ध बन्ने कुरामा कुनै दुई मत छैन ।

प्रतिक्रिया दिनुहोस्