Logo

कतारलाई हराउँदै नेपाल समूह विजेता



काठमाडौँ, १४ वैशाख । एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेता बनेको छ ।

बिहीवार भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो ।

नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको कतार २५ ओभर १ बलमा ८९ रन बनाउँदा अलआउट भयो । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५/१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिएका थिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भयो । नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक नटआउट ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले २७ रन बनाए । कतारका आमिर फरूकले ४ र ओइस अहमदले ३ विकेट लिएका थिए ।

नेपाल ४ खेलमा ७ अङ्कसहित समूह विजेता बनेको हो । नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो भने तेस्रो खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । यही समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाएको थियो ।

यस्तै समूह ‘बी’ बाट यूएई सेमिफाइनल पुगिसकेको छ । अहिले भइरहेको हङकङ र कुवेतबीचको खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टोली बन्नेछ ।

सेमिफाइनल शनिवार हुनेछ । यस्तै फाइनल सोमवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्