Logo

गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ



कास्की, १५ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । बिनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीले शपथ ग्रहण गरेका छन् ।

सिम्खडा नेकपा माओवादी केन्द्र र तिवारी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट छिट्टै हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी)का एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा कांग्रेसका पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन् । नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा गोरखा-२ (२) बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्