Logo

शरणार्थी प्रकरणमा नीति मिलाउने रायमाझी र राई नेता मनाउने गिरोह



काठमाडौँ, २६ वैशाख । भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ । कांग्रेसभित्र उपल्लो तहमा प्रभाव राख्ने कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मन्जु खाण नै लेनदेनमा संलग्न भएको अडियो बाहिरिएपछि गिरोहलाई सहजीकरण गर्न राजनीतिक नेतृत्व नै संलग्न भएको आशंका बढेको छ ।

साथै गृह मन्त्रालयको निरन्तर उत्तराधिकारीका रूपमा आएका तत्कालीन बालकृष्ण खाणले नै भुटानी शरणार्थीको समस्या समाधान गर्ने नाममा गिरोहलाई पैसा उठाउन बल पुग्नेगरी ताकेता गर्दा उनको संलग्नता लुकाउने ठाउँ भेटिएको छैन । यद्यपि खाण र आरजु राणाले यो विषयमा आफ्नो संलग्नता नभएको बताएका छन् । यही प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ नै परिसकेका छन् ।

गृह मन्त्रालयमा नीति मिलाउने कार्यमा एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राई संलग्न थिए । राई तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार नियुक्त भएका थिए । उनी नियुक्त भएपछि नै गिरोहले आफ्नो काम थालेको थियो ।

सो गिरोहले प्रशासनिक काममा राईलाई प्रयोग गरेको थियो भने रायमाझीले भुटानी शरणार्थी स्थायी र दीर्घकालीन समस्या समाधान गर्न कार्यदल गठनका लागि तत्कालीन गृहमन्त्री थापालाई मनाएका थिए ।

सल्लाहकार राई गोप्य भन्दै सधैं शरणार्थीहरूको फाइल बोकेर हिँड्ने गर्थे । रायमाझी मन्त्रीलाई भेटेर मनाउने गर्थे, त्यही क्रममा कार्यदल बनेको हो,’ तत्कालीन मन्त्रीको सचिवालयमा बसेर काम गरेका एक सदस्यले भने । उनका अनुसार रायमाझीकै दबाबमा कार्यदल बनेपछि गिरोहका सदस्यहरू निकै सक्रिय भएका थिए ।

स्रोतका अनुसार गिरोहमा संलग्न मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी, पाँचथरका कुमार गुरुङ, दाङका सन्देश शर्मा छन् भने एकजना अमेरिका पनि बस्छन् । प्रहरीले अमेरिकामा रहेका व्यक्तिको नाम सार्वजनिक गर्न चाहेको छैन । उनी अमेरिका पुगेपछि मात्रै प्रहरीमा यस प्रकारको गहिरो सूचना आएको थियो ।

‘यतिबेला अनुसन्धानलाई हेर्दा रायमाझी र राई नीति मिलाउने, गिरोहका सदस्यहरू राजनीतिज्ञहरूलाई मिलाउनेमा सक्रिय हुने गरेको बुझिन आएको छ, पक्राउ परेकाहरूको बयानलाई हेर्ने हो भने पनि यही देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।

एमाले सचिव रायमाझी अहिले फरार छन् । प्रहरीले पक्राउ पुर्जी जारी गर्नेबित्तिकै उनी फरार भएका हुन् । उनी फरार भए पनि विभिन्न शंका–उपशंका उत्पन्न भएपछि प्रहरीले उनको खोजी जारी राखेको बताइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्