Logo

एमाले केन्द्रीय कमिटी बैठक: अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेस



काठमाडौँ, २८ वैशाख । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । ​

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरण, अर्थतन्त्र, पछिल्ला समसामयिक राजनीतिक परिवेशको बारेमा जानकारी गराएको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

उनले बैठकमा अध्यक्ष ओलीले अहिलेको अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको कुरा बिफ्रिङ गरेको पनि जानकारी दिए । बैठकमा केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षले आफ्नो सुझाव सल्लाह पेस गरेको उनले बताएका हुन् ।

उक्त बैठकमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्रको अनुशासनको स्थितिबारे, पार्टीको लेखा परिषदका अध्यक्ष डा.पुष्प कँडेलले पार्टी आर्थिक प्रणालीकोबारे र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निर्वाचनको सम्बन्धमा बैठकलाई जानकारी गराएको पनि गुरूङले जानकारी दिए ।

उपमहासचिव गुरुङले मिसन ग्रासरुट अभियानको समीक्षा अन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गरेका जानकारी दिए । अन्य प्रदेशको रिपोर्ट भने शुक्रवारको बैठकमा पेस गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्