Logo

इमरान खानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश



काठमाडौँ, २८ वैशाख । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ । प्रहरीले भ्रष्टचार सम्बन्धी मुद्दामा अदालत परिसरबाट मंगलवार खानलाई पक्राउ गरेको थियो ।

इस्लामाबादको एक उत्तरदायित्व अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आठ दिनको लागि हिरासतमा लिए पछि देशभर तवावको स्थिति सृजना भएको छ । पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई)का अध्यक्षसमेत रहेका खानलाई सरकारले विभिन्न भ्रष्टचार सम्बन्धी मुद्दा लगाएको छ । खानले भने तत्काल निर्वाचन गराउन माग गर्दै आएका छन् ।

खान पक्राउ परेपछि पाकिस्तानमा भएको हिंसात्मक प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ भने ३ सय भन्दा बढी घाइते भएका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार दुई हजार भन्दा बढी प्रदर्शनकारी गिरफ्तार भएका छन् । खान समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी चौकी, सवारी साधनसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन् ।

केन्द्रीय महासचिव असद उमरलाई हिरासतमा लिएको केही घण्टापछि पीटीआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पक्राउ पनि गरिएको थियो ।
पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामाबादमा, प्रशासनले बिग्रँदै गएको अवस्थालाई व्यवस्थापन गर्ने प्रयासमा सेना परिचालन गरिएको थियो । प्रदर्शनकारीले कोर कमाण्डरको लाहोरको घरमा प्रवेश गरी रावलपिंडीको जीएचक्यूको एउटा गेट समेत भत्काएका छन् ।

यसअघि बुधवार पाकिस्तानका पूर्व विदेशमन्त्री, पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) का उपाध्यक्ष मखदुम शाह महमूद कुरैशीलाई इस्लामावाद प्रहरीले पक्राउ गरी अज्ञात स्थानमा राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्