Logo

पक्षपातरहित ढङ्गले विकास गर्नुपर्छ: तिमिल्सिना



पर्वत, २९ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका योजना छनोटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका-७ को वडा कार्यालय भवनको उद्घाटनलाई सम्बोधन गर्दै उनले पक्षपातरहित ढङ्गले विकास निर्माण गर्नुपर्नेमा जोड दिए ।

“विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ”, उनले भने, “बिना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र अरूले नपाउने भयो भने त्यस्तो अवस्थामा विद्रोह हुन्छ । पक्षपातरहित ढङ्गले विकासको समानुपातिक वितरण आवश्यक छ ।”

अध्यक्ष तिमिल्सिनाले विकासमा पक्षपात गर्नु हुँदैन भन्ने मान्यता सबैले राख्नुपर्नेमा जोड दिँदै सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनोटमा पर्छन् भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले बिना पक्षपात काम गर्नुपर्ने बताए । तीनवटै तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनोट गर्न उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्