Logo

दर्ताबिनाका मोबाइलमा ‘नेटवर्क लक’ हुने



काठमाडौँ, १ जेठ । मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ। यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल ९सम्बन्धित मोबाइलको आइएमइआई० लाई यो प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने छ ।

प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन । त्यस्तै आइतबार (वैशाख ३१) सम्म प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो । सरकारले गत आर्थिक वर्षको बजेटमार्फत नै २०७८ साउनदेखि यो लागु गर्ने घोषणा गरेको थियो तर सबै उपकरण नआएको कारण देखाउँदै प्राधिकरणले तोकिएको समयमा यसलाई सञ्चालनमा ल्याउन सकेको थिएन । दोस्रो पटक २०७९ पुस १५ गतेदेखि एमडिएमस लागु गर्ने प्राधिकरणले औपचारिक घोषणा गरे पनि सार्वजनिक विरोधपछि त्यसलाई तत्कालका लागि स्थगित गरेको थियो ।

खास गरी व्यक्तिगत प्रयोजनका लागि ल्याइने मोबाइलको भन्सारसँग सम्बन्धित नीति व्यावहारिक नभएको भन्दै भएको विरोधका कारण त्यससँग असम्बन्धित एमडिएमएस प्रणाली पनि त्यति बेला स्थगित हुन पुगेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्