भीमनारायण गोल्डकपको उपाधि प्लानिङ ब्वाइजलाई
धनकुटा, ३ जेठ । धनकुटामा जारी १५ औँ सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ ।
आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४-० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो ।
उपाधिसँगै प्लानिङ ब्वाइजले नगद पाँच लाख र भीमनारायण गोल्डकपको ट्रफी पाएको छ । उपविजेता बनेको वीरगञ्ज युनाइटेडले दुई लाख ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ ।
प्लानिङ ब्वाइजको जितमा यो निपोलियनले दुई, समिर थापा र विशाल दर्जीले एक-एक गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अविनाश थापामगर घोषित भए । उनले नगद चार हजार हात पारेका छन् ।
त्यस्तै विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर लोकेश चौधरी, उत्कृष्ट स्ट्राइकर यो निपोलियन घोषित भए भने वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरूले सात-सात हजार नगद र ट्रफी हात पारेका हुन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका डेडी वाम्वा घोषित भएका छन् । उनले नगद १५ हजार र ट्रफी प्राप्त गरेका छन् ।