Logo

सगरमाथामा रेडक्रसको झण्डा फहराएकोमा आरोही शेर्पालाई बधाई



काठमाडौँ, ९ जेठ । सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । यही जेठ २ गते उनले सगरमाथाको आरोहण गरेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झण्डा फहराएका थिए । सगरमाथा आरोहण गर्न जाने क्रममा शेर्पालाई नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले रेडक्रसको झण्डा हस्तारण गरेको थियो । सोहीअनुरुप उनले आरोहणपश्चात् रेडक्रसको झण्डा फहराएको जनाइएको छ ।

यसैबीच रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले सगरमाथा आरोही मिङमार शेर्पालाई विशेष बधाई एवं धन्यवाद दिए । गत वैशाख २८ गते दोस्रो कार्यकालमा लागि चयन भएका महासचिव चापागाईँले सामाजिक सञ्जालमा भने, “म अरोही शेर्पाले सगरमाथा चुम्न गर्नुभएको अथक प्रयास, मेहनत र उच्च साहसको हृदयदेखि नै सरहना गर्दछु । यसक्रममा आरोही शेर्पाले रेडक्रसको झण्डा सगरमाथामा फहराउनुभएकामा विशेष बधाई एवं धन्यवाद दिन चाहन्छु । यसले मानवीय सेवामा अहोरात्र तल्लीन रेडक्रसका स्वयंसेवकलाई अझ ऊर्जा, उत्प्रेरण र आत्मविश्वास बढ्ने छ ।” मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकताजस्ता रेडक्रसका आधारभूत सिद्धान्तलाई थप बलियो बनाउने उनले प्रतिबद्धतासमेत जनाए ।

आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लालले सगरमाथा आरोही शेर्पालाई बधाई दिए । उनले सामाजिक सञ्जालमा भने, “रेडक्रसकर्मी स्वयंसेवकले प्रदर्शन गर्ने सेवारुपी भावना, समर्पण, दया, सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई अझ सुदृढ बनाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्