Logo

सामुदायिक विद्यालयको प्राविधिक विषयमा विद्यार्थीको आकर्षण



बिर्तामोड, ९ जेठ । बिर्तामोड नगरपालिकामा प्राविधिक विषय अध्ययन हुने एक मात्र सामुदायिक विद्यालय वीर अमरसिंह माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

विद्यालयमा प्राविधिक विषय अन्तर्गत कम्प्युटर इन्जिनियरिङको कक्षा सुरु भएपछि विद्यार्थीको आकर्षण बढेको हो । प्राविधिक विषयमा विद्यार्थीले परीक्षा नतिजा राम्रो ल्याएका छन् । प्रधानाध्यापक यदुनाथ अधिकारीले कक्षा १२ को परीक्षामा सामेल ४८ जना विद्यार्थीमध्ये ४२ जना विद्यार्थीले एं प्लस र ५ जनाले ए ग्रेड ल्याएको बताए । प्राविधिक विषयमा अध्ययन पूरा गर्ने विद्यार्थी बेरोजगार बस्नु नपर्ने प्रधानाध्यापक अधिकारीको भनाइ छ ।

विद्यालयमा सन्थाल, राजवंशी, आदिवासी जनजाति समुदायका विद्यार्थी संख्या उल्लेख्य छ । विद्यालयमा प्लाई, इट्टाभट्टा लगायतका उद्योगमा काम गर्ने श्रमिकका छोराछोरी अध्ययनका लागि आउने गरेका छन् ।

विद्यालयमा प्राविधिक विषयमा मात्र होइन, अन्य विषयमा नर्सरीदेखि १० कक्षासम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुने गर्दछ । विद्यार्थीका लागि विद्यालयले यातायातको व्यवस्था गरेको छ । बिर्तामोड नगरपालिकाका १८ वटा सामुदायिक विद्यालयमा प्राविधिक विषय अध्ययन हुने वीर अमरसिंह एक मात्र विद्यालय हो । बिर्तामोड नगरपालिकाले प्राविधिक विषयका लागि भनेर अतिरिक्त सहयोग नगरेको प्रधानाध्यापक अधिकारीले बताए ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकबीचको सहकार्यमा विद्यालय सञ्चालन हुँदै आएको छ । संघीय सरकारको एक निर्वाचन क्षेत्र एक प्राविधिक विद्यालयको नीति अनुसार विद्यालयमा प्राविधिक विषय अध्ययन सुरु भएको हो ।

विद्यालयमा श्रमिक परिवारका बालबालिकाको संख्या बढी छ । वडा नं. २ का अध्यक्ष तथा वीर अमरसिंह माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रहेका किशोरकुमार पौडेलले बिर्तामोड नगरपालिका वडा नं.२ मा पाँच वटा सामुदायिक, चार वटा निजी र एउटा संस्कृत विद्यालय रहेको बताए । उनले सवै विद्यालयमा विद्यार्थीको संख्या उल्लेख रहेको बताए । वडाध्यक्ष पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमासमेत परिवर्तन आउन थालेको बताए । उनले भने, वडाभित्रका निजी विद्यालयमा विद्यार्थीको संख्या घट्दो छ भने सामुदायिक विद्यालयमा बढ्दै गएको छ ।

अध्यक्ष पौडेलले प्राविधिक विषयको शैक्षिक गुणस्तर कायम राख्न प्रयास भइरहेको बताए । उनले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा ध्यान दिइएको बताए । विद्यालयमा निजी स्रोतबाट शिक्षक राखिएकाले प्राविधिक विषयका विद्यार्थीबाट केही शुल्क लिने गरिएको उनले बताए । सरकारले प्राविधिक विषयमा शिक्षकको दरबन्दी व्यवस्था नगर्दा शुल्क उठाउनु पर्ने अवस्था आएको अध्यक्ष पौडेलको भनाई छ ।

बिर्तामोड नगरपालिकाको सामुदायिक विद्यालय सुधारको योजनाले नगर क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तर सुधार भएको हो । सुधार योजना अन्तर्गत विद्यालयको भौतिक विकास, सरसफाइ र पठनपाठनमा सुधार देखिएको हो । सुधार योजना अघि अमरसिंह माविमा घेराबारा थिएन । खेल्न मैदान गाइचरन थियो । मैदानका बीचबाट साइकल र मोटरसाइकल कुदाइन्थ्यो । विद्यार्थी विद्यालयमा पूरा अवधि नबस्ने, पूर्वाधारको अभाव भए तर, नगरपालिका, व्यवस्थापन समिति, अभिभावकको सक्रियताले विद्यालयले फड्को मारेको छ ।

विद्यालय घेराबारा भएको छ । कक्षा कोठा निर्माण भएका छन् । शुद्ध पिउनेपानी, फंखाको प्रवन्ध, प्रविधिमैत्री कक्षा कोठा, खेलका सामग्रीको प्रवन्ध गरिएको अध्यक्ष पौडेलले बताए । उनले बिर्तामोड नगरपालिकाको सहयोगमा कक्षा पाँचसम्म नि:शुल्क दिवा खाजा र कक्षा ६ सम्म स्कुलको पोशाक वितरण गर्न थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस्