Logo

शेयर बजारमा बढी कमाउनेहरुले कर नतिर्ने चलखेल गरे: अर्थमन्त्री



काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले पुँजीबजारलाई तल/माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट-बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले पुँजीबजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेहरुलाई इमान्दार भएर करको दायरामा ल्याउन खोज्दा आफूलाई नै जोखिम महशुस गरेको बताए ।

उनले पुँजी बजारमा ठूलो लगानीकर्ताहरुको समूहले बजारलाई तल झारेर तुरुन्तै सेयर किनेर बजार माथि लैजाने गरेको दाबी गरे । अर्थमन्त्री महतले सरकारले यस्तो प्रणालीको अन्त्य गर्न खोजेको बताएका हुन् ।

उनले सरकारले बजेटमार्फत शेयर बजारमा बढी आय गर्नेहरुलाई करको दायरामा ल्याउँदा स्वार्थ समूहहरुले अर्थमन्त्रीले शेयर बजारलाई समाप्त पार्न खोज्यो, ६० लाख लगानीकर्ता समाप्त हुने भए भन्ने जस्ता दुष्प्रचार गरिरहेको बताए ।

उनले शेयर बजारमा बढी कमाउनेहरुले कर नतिर्ने चलखेल गरेको बताए । उनले शेयर बजारलाई नै पेशा बनाएर नाफा कमाएपछि कर तिर्नुपर्ने दाबी गरे । उनले सरकारले पुँजी बजारमा कुनै स्वार्थ नराखेको भन्दै बजारलाई व्यवसाय बनाएकाले कर तिर्नुपर्छ भन्ने प्रणालीको विकास गर्न खोजिएको बताएका छन् ।

उनले पुँजीबजारका विषयमा अनावश्यक हल्ला फैलाउन उचित नभएको बताए । उनले बजेटले साना लगानीकर्तालाई संरक्षण गरेको भन्दै साना लगानीकर्ताहरुले नबुझ्दा बजारमा चलखेल गर्नेले अन्योल सृजना गरेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्