Logo
  चैत्र १६, २०८० शुक्रबार

तापक्रमले नाघ्यो सीमा



काठमाडौँ, १९ जेठ । तापक्रमले ‘थ्रेसहोल्ड’ नाघेपछि नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ । कुनै पनि स्थानमा तापक्रमको थ्रेसहोल्ड तोकिएको हुन्छ । त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई प्राविधिक भाषामा हिटवेभ भनिन्छ ।

चितवनदेखि पूर्वी तराई, गण्डकीको पोखरा आसपासका केन्द्र साथै दाङमा पनि हिटवेभको समस्या देखिएको छ । समग्रमा मध्य तथा पूर्वी तराईका धेरैजसो जिल्लाहरूमा हिटवेभ देखिएको हो । गर्मी बढेका अधिकांश स्थानमा विद्यालयहरू बन्द गरिएका छन् ।

जल तथा मौसम विज्ञान विभागमा कार्यरत मौसमविद् सुदर्शन हुमागाईंका अनुसार लगातार तीन दिन उस्तै गर्मी भएमा त्यसलाई हिटवेभ भनिन्छ । हिटवेभ हुनका लागि थ्रेसहोल्ड कट्नुपर्छ । प्रत्येक स्टेसनका फरक–फरक थ्रेसहोल्ड हुन्छन् ।

(हट डे, भेरी हट र एस्ट्रिम हट डे) गर्मी, धेरै गर्मी र अत्यन्त गर्मीमा वर्गीकरण गरिन्छ । बुधबार र बिहीबार इटहरीको तरहराको तापक्रम ३७.७ डिग्री पुग्यो । तरहराको तापक्रम ३५ डिग्री कटेपछि गर्मी मानिन्छ । र, ३६ डिग्री भएपछि धेरै गर्मी र ३७.७ कटेपछि अत्यन्त गर्मी मानिन्छ । त्यहाँ लगातार तीन दिन अत्यन्त गर्मी देखिएकाले हिटवेभ सुरु भइसकेको हुमागाईंले बताए ।

गत अप्रिलमा पनि त्यहाँ हिटवेभ देखिएको थियो । त्यहाँ ३८.१ देखि ३८.६ डिग्रीसम्म पुगेको थियो । गत दुई दिनमा कैलालीमा ३९.८ र ३९.९ डिग्री तापक्रम पुगेको छ। टीकापुर क्षेत्रमा ३९.५ कटेपछि गर्मी मानिन्छ । अहिले ३९.८ पुगिसकेको छ । जनकपुरमा धेरै गर्मी छ ।

बुधबारदेखि जनकपुरको तापक्रम ३९.१ डिग्री छ । जनकपुरमा ३७ डिग्री पुगेपछि गर्मी, ३८.२ डिग्री कटेपछि धेरै गर्मी र ४० डिग्री कटेपछि अत्यधिक गर्मी मानिन्छ। तर, नेपालगन्जको तापक्रम सामान्य अवस्थामा यथावत् छ ।

काठमाडौंको पनि निकै गर्मी महसुस भएको छ । बुधबार काठमाडौंको तापक्रम ३०.७ डिग्री पुगेको थियो। यहाँ ३१.३ डिग्री नाघेपछि धेरै गर्मी मानिन्छ । तर, धापाखेलको थ्रेसहोल्ड थोरै छ । त्यहाँ ३० डिग्री पुग्दा धेरै गर्मी मानिन्छ । धापाखेलमा दुई दिन लगातार ३०.४ र ३०.७ देखिएकाले धेरै गर्मी देखिएको उनले जनाए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्