Logo

पार्टी पुर्निर्नर्माणको प्रकृयामा छौँ




धर्मशीला चापागाईं
पार्टी अध्यक्षमा भर्खरै निर्वाचित हुनुभएको छ । कस्तो अनुभूति भइरहेको छ ?
–  भर्खरै जिल्लाको दोश्रो सम्मेलनबाट मैले अध्यक्षको जिम्मेवारी सम्हालेकी छु । पार्टीको जिम्मेवारी निर्वाह गर्न पाउँदा खुशी लागेको छ ।
पार्टीको वर्तमान अवस्था कस्तो छ ?
– अहिले पार्टी सांगठनिकरुपमा क्रमश सुदृढ हँुदैजादैछ, दोश्रो संविधानसभा निर्वाचनपछि निराशा र आक्रोश आमपार्टी पंक्तिमा थियो तर निर्वाचनको त्यो प्रकारको परिणाम आउनुपछाडिका कारणहरु माथिछलफलहुंदै गएर जिल्ला सम्मेलनसम्म आइपुग्दा त्यो निराशा हट्दै पार्टीमा पुनः सक्रियता बढ्दै गएको छ । बैचारिक रुपमा पनि अबको नेपाली क्रान्ति अगाडि लैजानेबारे पार्टीको हेटौंडामा सम्मपन्न महाधिवेशनले पास गरेको राजनीतिक कार्यदिशालाई अहिलेको सापेक्षतामा कसरी कार्यन्वयन गर्ने भन्नेबारे गहन छलफलहरु हुँदैछ ।  
झापामा पार्टी कमजोर भयो भनेर अब सुधार गर्न तपाईले नेतृत्व लिनुभएको हो ?
– झापामा पार्टी त्यतिधेरै नै कमजोर भएको थिएन बरु कतिपय अवस्थामा हामीले सञ्चालन गर्नपो सकेनौ । जनताले पहिलो संविधानसभा निर्वाचनमा त्यति धेरै विश्वास गरेर हामीलाई यसजिल्लामा दुई तिहाईभन्दा पनि बढी मत दिनुभएको थियो तर त्यो जनताको विश्वास अनुसारका कतिपयकामहरु गर्न पाएनौं विकास निर्माणका कामहरु गर्नसक्ने अवस्था नै रहेन, गरिएका कतिपय कामहरु पनि व्यवस्थित गर्न सकेनौं त्यसले जनतामा एक प्रकारको निराशा उत्पन्न गरायो । अर्को कुरा संविधानसभा निर्वाचनमा भएको पराजयबाट नै हाम्रो पार्टी कमजोर भएको निष्कर्ष निकाल्ने कुरा सत्य होइन । गएको संविधानसभाको परिणामको बारेमा हाम्रो पार्टीले समीक्षा गरेर आइसकेको छ । हाम्रो जिल्लाको सन्र्दभमा भन्दा भर्खरै सम्पन्न जिल्ला सम्मेलनसम्म हेर्दा सांगठनिक रुपमापनि हामी कमजोर छैनौं भन्ने स्पष्ट देखिन्छ । यी सबैलाई हेर्दा साह्रै नै पार्टी कमजोर भयो नभनौं यो अवस्थामा पार्टीलाई सुदृढ गरेर लानुपर्ने र जनताको अपेक्षा अनुरुप काम गर्नुपर्ने छ यो अवस्थामा म अध्यक्ष बनेकी छु यी सबैकामलाई व्यवस्थित गर्ने छु ।
अघिल्लो संविधानसभामा झापामा पा“च सीट जितेको एकीकृत नेकपा माओवादी यसपटक शून्यमा झर्नुको कमजोरी के के हो भन्ने पार्टीको निष्कर्ष छ ?
– हाम्रो पार्टीले देशैभरि नराम्रो पराजय भोग्नुपर्यो त्यसबारे गएको माघको केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा गर्यो । आन्तरिक १३ र बाह्य १० गरी २३ वटा पराजयका कारणहरु भनेर ठोस गर्यो ती कारणहरु झापाको सन्र्दममा पनि हुन् । संविधानसभाबाट मुलुक परिवर्तन गर्नसक्ने संविधान लेख्नुपर्छ भनेर लामोसमयसम्म माओवादीले उठाउँदै आयो र माओवादीकै कारण देशमा संविधानसभा निर्वाचन सम्पन्न हुन सक्यो तर फेरीपनि जनअपेक्षा अनुसारको संविधान घोषणा गर्न पाएनौं बरु विगठन नै भयो । त्यसपछि गत मंसीर सम्पन्न निर्वाचनलाई कसरी परिर्वतनकारी शक्ति त्यसमापनि माओवादीलाई परास्तगर्ने भन्ने योजना यथास्थितिवादी  शक्तिको रहेछ । त्यो स्थितिलाई एमाओवादीले बेलैमा बुझ्न सकेन यो स्थितिलाई बेलैमा बुझ्न सक्नुपर्थो । यो मुख्य पक्ष हो र सँगै फेरी पहिलो संविधानसभापछि संविधानसभा विरुद्ध भएका षड्यन्त्रहरुलाई जनसमक्ष ल्याउन पनि सकेनौं । जनअपेक्षा अनुरुप सक्नेजति कामपनि गर्नसकेनौं । सरकारमा बसेर गरेका कामहरु पनि जनतालाई राम्ररी अनुभूत गराउन सकेनौं । पार्टीभित्रको अन्तरसंघर्षलाई पनि पार्टीले व्यवस्थित गर्न सकेन ।  
परिवर्तित अवस्थामा पार्टी सञ्चालनको नयाँ कार्ययोजना कस्तो छ ?
– हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । आगामी कामका योजनाहरु ठोस् गर्ने छ । तिनै योजनाभित्र बसेर हाम्रो जिल्लामा गाउँ हुँदै वडासम्मै पार्टी संगठनलाई व्यवस्थित गरिने छ , पार्टीका अन्य सबै निकायहरुलाई पनि ब्यवस्थित गर्नुपर्ने छ । पार्टीभित्र राजनीतिक बैचारिककामहरुलाई पनि ब्यवस्थित गर्न निरन्तर काम गर्नुपर्ने छ जनसम्बन्धलाई अझ प्रगाढ बनाइने छ ।
जिल्लाका अन्य राजनीतिक दलसंगको सहकार्यलाई अबका दिनमा कसरी अघि बढाउनुहुन्छ ?
– हिजो जस्तो थियो अबपनि त्यस्तै रहन्छ अहिलेको सन्र्दभमा सबैले सहकार्य गरेर नै अगाडि जानुपर्ने हुन्छ । तर फेरीपनि हिजो हामी ठूलो पार्टी थियौं । हाम्रो जिल्लामापनि हामीले सबैलाई सम्मानकासाथ व्यवहार गर्दै आयौं अहिले संविधानसभामा व्यवस्थापिकामा प्रतिपक्षमा छौं । राजनीतिक पार्टीहरुको भूमिकामा पनि अबको सम्वन्ध कस्तो रहन्छ भन्नेकुरा निर्धारण हुन्छ ।
झापालाई मुलुकमै शान्ति र समृद्ध जिल्लाको रुपमा स्थापित गर्न तपाईको प्रतिबद्धता के छ ?
– हाम्रो जिल्ला समृद्धको सम्भावना धेरै भएको जिल्ला हो । उत्पादनका हिसावले निकै राम्रो छ । नदी, खोलाहरु छन् विद्युत, सिंचाइका सम्भावना निकै छन् । चिया उत्पादनको कामलाई व्यवस्थित गर्न सक्दा निक्कै सम्भावना बोकेको क्षेत्र हो । तेश्रो मुलुक निर्यात गर्न सक्दा राज्यको राम्रो आयको रुपमा रहेको छ, रोजगारीको क्षेत्र पनि हो । पर्यटकीय क्षेत्र बिकासको राम्रो सम्भावना छ । हाम्रो जिल्लामा मिश्रित बसोबास छ । आदिवासी समूदायको परापूर्वकालदेखि नै बसोबास छ । यस ठाउँमा यसले पनि बिकासमा राम्रो भूमिका खेल्छ । उद्योगधन्दाहरु पनि छन् विकास हुने ठाउँ छ । तर दुःखका साथ भन्नै पर्छ यी सबै सम्भावनाहरुलाई अझ राम्रोसंग बिकास गर्नका निम्ति राजनीतिकदलहरु , यहाँस्थित राज्यका निकायहरु, अन्य सरोकारवाला पक्षहरुले एकीकृत रुपमा छलफल गरी प्राथमिकताका आधारमा बिकासका कामहरु निर्धारण गर्न नसक्दा जति सम्भावना भएरपनि परिणाममा उपलब्धी आउनसकेको छैन, केही कोशिस गर्न खोज्दा सफल हुन सकेको छैन । यी सबैका बाबजुदपनि हाम्रो जिल्लालाई मुलुककै नमूना जिल्ला बनाउनेमा सबैपक्षसँग सहकार्य र छलफल गर्दै बिकास कार्यमा लाग्ने दृढ प्रतिबद्धता गर्दछु ।
तपाई त अघिल्लो संविधानसभाको सदस्य पनि, बर्तमानको संविधानसभालाई के छ सुझाव ?                                                                                                                                             
– अहिले संविधानसभासामु निकै ठूलो चूनौति छ । पहिलो संविधानसभाले जनअपेक्षा अनुरुप पूर्णरुपमा संविधानमा विषय समेटेर घोषणा गर्न सकेन निक्कै मिहिनेत गरेर संबिधान लेख्ने काम भएको थियो बरु संविधानसभा नै विगठन भयोे  । दोश्रो संविधानसभामा परिवर्तनका निम्ति संघर्षगरेका राजनीतिक शक्तिहरु, समुदायहरुले पराजय भोग्नुपर्यो । सानोसंख्यामा संविधानसभामा उपस्थिति छ । तमाम उत्पीडितजाति, महिला, क्षेत्र आदिले आफ्नो अधिकारसहितको संविधान बन्छ या बन्दैन निकै सर्तकताकासाथ हेरी रहेको स्थिति हो । नेपालमा परिवर्तनकालागि निकै ठूला–ठूला आन्दोलनहरु हुँदै आएको इतिहास छ तर पनि परिवर्तनको खासै अनुभूति गर्न पाएका छैनन् । अहिलेको स्थितिसम्म आइपुग्न पछिल्लो समयमा ठूलो बलिदान गर्नुपरेको छ  अब केहीमहिनामात्रै बाँकी छ । समयमा फेरीपनि संविधान घोषणा होलाकी नहोला अन्यौलता छ । हामीसंग अन्तरिम संविधान मात्रै छ पूर्ण संविधान भनेकै समयमा घोषणा हुन सकेन भने जनताको धैर्यताको सिमा भत्कँदैन भन्न सकिँदैन ।
यस्तो अवस्थामा संविधानसभाले विना ढिलासुस्ती नगरी कार्य गर्नुपर्छ । विगतमा संविधानसभाकालागि कतिपय अनुभवको कमी पनि हामीले देख्यौ । तर अब त्यसो भनेर भन्नमिल्दैन निकै अभ्यासहरु भएका छन् । हामीसंग केही महिनाहरु छन् । त्यो समयभित्र संविधानसभा सँगै व्यवथापिकाको कामपनि गर्नुपर्ने हुन्छ । त्यसो हुंदा जति सक्यो समयमा नै विकास निर्माणका कामलाई पनि सम्बोधन गरेर लैजानुपर्छ । मुख्यतः संबिधान निर्माणकै कामलाई अगाडि लैजानेकाम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्