Logo

ओली त कलाकार हुनुपथ्र्यो



गोपाल किराती
स्थायी समिति सदस्य, एमाओवादी

हालै एमाले अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई संविधानसभा चुनावमा चुनौती दिएका थिए एमाओवादीका गोपाल किरातीले । झापा–७ को सो ‘हाइभोल्टेज’ भिडन्तमा बाजी मारे ओलीले । उनी सभासद् मात्रै चुनिएनन्, आफ्नो पार्टीको संसदीय दलका नेता पनि भए र त्यसपछि पार्टी अध्यक्ष ।

वैचारिक दृष्टिले ओलीका कटु आलोचक हुन् किराती । जातीय पहिचानसहितको संघीयताको कुरा सुन्न पनि नचाहने ओली र ज्यानको बाजी लगाएर भए पनि जातीय पहिचानसहितको संघीयता ल्याउँछु भन्ने किराती । एमाओवादी स्थायी समिति सदस्य किरातीको नजरमा प्रतिस्पर्धी दलका प्रमुख नेता ओली कस्ता छन् त रु

०५१ मा म किरात स्वायत्त प्रदेश प्राप्तिका लागि भूमिगत सशस्त्र आन्दोलनको अन्तिम तयारीमा थिएँ । त्यहीवेला खड्गप्रसाद ९केपी० ओली गृहमन्त्री भए । उनी गृहमन्त्रीको कुर्सीमा आसिन भएकै दिनदेखि थाहा भयो, ‘केपी ओली भन्ने नेपालमा एकजना नेता छन् ।’

त्यसयता केपीबारे निरन्तर सुन्दै आएँ । मेरो मानसपटलमा उनी अनुदार, हेपाहा, मिचाहा स्वभाव र खराब प्रस्तुतिका छन् भन्ने छाप बस्दै आयो । र, झापा आन्दोलनमा सकारात्मक भूमिका खेले पनि पछिल्लो समय उनी परिवर्तनविरोधी भएका छन् भन्ने बुझेँ । अनि मलाई लाग्न थाल्यो, ‘ए यी त खराब मान्छे पो रहेछन् त ।’ तर, कहिलेकाहीँ सोच्थेँ, ‘यी केपीलाई भेटेरै कुरा गर्न पाए कस्ता हुँदा हुन् रु’ तर जम्काभेटको मौका धेरै पछि मात्र जुर्‍यो ।

०००

०६३ असारतिर नेपाल टेलिभिजनले सार्वजनिक सुनुवाई राखेको रहेछ । त्यसअघि टेलिभिजन कार्यक्रममा म सहभागी भएको थिइनँ । अलिक अगाडि पुगेकाले मैले उद्घोषकलाई सोधेँ, ‘अरू को–को छन्, वक्ता रु’ उनले उपप्रधान तथा परराष्ट्रमन्त्री केपी ओली, कांग्रेसका मधु आचार्य हुनुहुन्छ भने । मैले मनमनै भनेँ ‘ए केपी ओली पो आउँदै रहेछन्, जो मलाई व्यक्तिगत रूपमा मन पर्दैनन् ।’ तथापि, सोचेँ, ‘गाँठे यी त नेता पो हुन् । उपप्रधानमन्त्री हुन् । मैले आदर नै गर्नुपर्छ । आदरपूर्वक बोल्छु ।’दलबलसहित आए केपी । हेर्दै रिसाहाजस्ता । हातै मिलाएनन् । मानौँ उनको खुट्टा भुइँमा छैन । तर, म भुइँमा छु । भुइँमा खुट्टा नभएकाले भुइँमा भएको मसँग हात मिलाउन आवश्यक ठानेनन् होला । म पनि माओवादीको केन्द्रीय सदस्य थिएँ । ‘उमेर पनि जेठो, फरक पार्टी भए पनि ठूलै नेता, देशका उपप्रधानमन्त्री । आदरपूर्वक व्यवहार गर्नुपर्छ’ भन्ने मेरो सोचाइले काम गरेन ।

उनी ‘हतियारको दम्भ देखाउने रु हतियार बोकेर हिँड्ने रु’ भन्दै माओवादीलाई गाली पो गर्न थाले । मैले पनि मर्यादाको कुरा राख्ने कुरा भएन । उनीजस्तो बोल्न मलाई पनि के समस्या रु भनिदिएँ, ‘कसले बोकेको छ हतियार रु म केन्द्रीय सदस्य हुँ । खोइ कहाँ छ मेरो हतियार रु हतियार त बरु तपाईंको छ । तपाईंको गार्डसँग छ ।’

अरू–अरूमा पनि चर्काचर्की भयो । कार्यक्रम आकर्षक भयो । उद्घोषक बीचमा थिए । केपी दायाँतिर र म बायाँतिर थिएँ । कार्यक्रम सकिएपछि उनी जुरुक्क उठेर हिँडे, हात मिलाएनन् । उनको बारेमा मैले जे सुनेको, बुझेको थिएँ, त्यहाँ उनले देखाएको व्यवहारले पुष्टि गर्‍यो ।

०००

म संघीय मामिलामन्त्री थिएँ, ०६८ मा । राज्यपुनर्संरचना आयोग गठन गर्न शीर्ष नेताहरूसँग छलफल भयो । शान्ति मन्त्रालयमा भएको छलफल लामै भएको थियो । दोस्रो भेट केपीसँग त्यहीँ भयो । त्यसवेला बल्ल उनले हात मिलाए । उनी उपप्रधानमन्त्रीको कुर्सीबाट झरिसकेका थिए, त्यही भएर होला खुट्टा पनि भुइँमै थिए ।

तेस्रो भेट झापामा भयो, ०७० को संविधानसभा निर्वाचनमा । किरात धर्मगुरु फाल्गुनन्द लिङदेनको जन्म दिवसको कार्यक्रममा झापा ७ का सबै उम्मेदवारलाई बोलाइएको थियो । उद्घोषकले भने, ‘कृपया पाँच–पाँच मिनेटमा मन्तव्य सकाइदिनु होला ।’

तर, केपीजीले आफ्नो विशेषता जाहेर गरिहाले । धाँधली नै गरे । हामीभन्दा पहिल्यै बोले । पाँच मिनेट भनिएकोमा १४ मिनेट पो बोले । मैले भनेँ, ‘तपाईंले धाँधली गर्नुभयो ।’ ‘कहाँ धाँधली गरेँ रु’ भनेर उनले प्रश्न गरे । ‘पाँच मिनेट भनेकोमा १४ मिनेट बोलेपछि धाँधली भएन त’ भनेर जवाफ दिएपछि फिस्स हाँसे र निस्किए ।

०००

झापा विद्रोहबारे मैले जे सुनेको र बुझेको छु, त्यसमा केपीजीको सकारात्मक भूमिका रह्यो । त्यसवेला उनी असाध्यै सुरवीर, असाध्यै काममा खट्ने थिए रे । गरिब परिवारबाट आएको मान्छे रे । झापाका अग्रजहरू कहिलेकाहीँ उनीबारे भन्छन्, ‘केपी गरिब परिवारबाट आएको राम्रो, असाध्यै खट्ने मान्छे । तर, बोलिचाली र व्यवहार भने असाध्यै रुखो ।’

गरिब परिवारबाट आएका केपीको आर्थिक जीवनले अहिले त निकै छलाङ मारिसकेको छ । सम्भ्रान्त वर्गमा रूपान्तरित भएका छन् । अर्थात्, एमाले जस्तो, केपी त्यस्तै भएका छन् । एमालेले केपीजस्तालाई फेरे कि केपीजस्ताले एमालेलाई फेरे, त्यो त उनीहरूलाई नै थाहा होला ।

उनको राम्रो पक्ष भनेको निर्णय क्षमता हो । तर, त्यो निर्णय क्षमतालाई उनले सदुपयोग होइन दुरूपयोग गर्दै आएका छन् । उनको विचार प्रतिगामी छ । प्रतिगामी विचार भएकाले राम्रो निर्णय क्षमता भए पनि त्यो क्षमताले जनतालाई हित गर्दैन, गरेको छैन । उनी निर्णय क्षमता भएका तर देश र जनताको पक्षमा नभएका जस्ता देखिन्छन् । प्रतिगामीका नेता भएका छन् ।

०००

उनी मलाई निकै अनुदार नेता लाग्छ । माओवादीप्रति त हुनसम्मको अनुदार । मिडियामा सुन्छु, गुन्डाहरूको संरक्षण र भरणपोषण भने राम्रै गर्छन् रे । तर, परिवर्तन चाहने, क्रान्तिकारीहरूप्रति हदैसम्मको अनुदार छन् । क्रान्ति र परिवर्तनविरोधी उनको चेतले काम गरेको हुनुपर्छ, अनुदार हुनुमा ।

उनको व्यंग्य, उखान–टुक्का सुन्दा हाँसो लाग्छ । उनी राजनीतिमा नआएर टेलिभिजन कार्यक्रम चलाएर बसेको भए देशका लागि बढी फाइदा हुने थियो । उनीजस्ता कलाकार पाउनु राष्ट्रलाई फाइदैको कुरा हुन्थ्यो ।

०००

केपी जनजाति, मधेसी, महिला, दलित मुस्लिम समुदायप्रति बढी अनुदार देखिन्छन्, जसले अधिकार मागिरहेका छन् । जातीय सामुदायिक रूपमा उनी कुमाई समुदायका मान्छे । पूर्वमा कुमाईलाई असाध्यै खतरनाक चलखेल गर्ने भनेर बुझिन्छ ।

को कुन समुदायमा जन्मियो भन्ने प्रधान कुरा होइन । केपीजी बाहुन समुदायमा जन्मनुमा कुनै दोष छैन । तर, उनी एक नम्बर बाहुनवादी हुन् । उनको बाहुनवादी सोच जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, महिला, मुस्लिम, जनजाति, दलितलगायत न्यायपूर्ण आन्दोलनको उपलब्धिलाई ध्वस्त पार्ने कसरत देखिन्छ । पहिचानसहितको संघीयताका विरोधी भएका छन् ।

प्रचण्ड बाहुन र केपी बाहुनमा आकाश–पातालको भिन्नता छ । प्रचण्ड जन्मले मात्रै बाहुन हुन् । माक्र्स र लेनिन जन्मले यहुदी थिए । यहुदी युरोपको सबैभन्दा बदमास जाति थियो । तर, माक्र्सले विज्ञान दर्शन स्थापना गरेर गरिब दुस्खीको पक्षमा र ती बदमासका विरुद्ध संघर्ष गरे । लेनिन रसियन उत्पीडक जातिका थिए । उनी त्यहीँ उत्पीडकका विरुद्ध र उत्पीडितका पक्षमा लडे । माओ हान जातिका थिए । उनी हानको अहंकारविरुद्ध लडे । प्रचण्ड बाहुन हुन् । तर, बाहुनवादको विरुद्धमा लडे ।

०००

पार्टीले जसको जिम्मेवारी जहाँ छ, त्यहीँबाट निर्वाचन लड्ने नीति बनायो । म किरातको इन्चार्जबाट कोचिलाको इन्चार्ज बनेँ । नीतिगत निर्णयपछि म झापा, मोरङ र सुनसरीमध्ये कुनै क्षेत्रबाट लड्नुपथ्र्यो । साथीहरूले सुनसरी १ बाट लड्नुपर्छ भने । झापाका साथीहरू, अझ धर्मशिला चापागाईंको बढी जोड भयो, ‘वर्षमान पुन र तपाईंमध्ये एकजना झापा ७ बाट लड्नैपर्छ ।’ अरू उम्मेदवार बन्नुको अर्थ हुँदैन भनेपछि झापा ७ बाट म नै कस्सिएँ । केपी ओलीसँग व्यक्तिगत प्रतिस्पर्धा गर्न गएको थिइनँ । पार्टीको प्रतिस्पर्धा थियो । वैचारिक प्रतिस्पर्धै थियो ।

झापामा जितेपछि केपीजी जितेको जित्यै छन् । दलको नेता जिते, पार्टीको अध्यक्ष जिते । स्वास्थ्यलाई मात्र हो जित्न नसकेको । जित्दै प्रतिक्रान्तिको नेतृत्व गर्दै छन् ।

मलाई अन्तिमसम्मै केपीलाई हराउँछु भन्ने लागेको थियो । सबैतिर राम्रो थियो । मंसिर ४ मा मतदान सकियो । भोलिपल्ट बिहान ६ बजे मतदान केन्द्रमा भेटघाट गर्न हिँडियो । एमालेका साथीहरू कालो नीलो अुनहारमा देखिन्थे । साँझ पर्दै थियो । मतपेटिका लिएर जाने गाडीमा हाम्रो पार्टीको प्रतिनिधिलाई बस्न नदिइएको खबर आयो । कसले रोक्यो रु भन्दा साथीहरूले ‘सेना र पुलिसले’ भनेपछि मैले बुझेँ, ‘अब परिणाम नकारात्मक आउँछ ।’

केपीले चुनावका वेला मलाई व्यंग्य गर्दै भनेका थिए, ‘सातु र सामल बोकेर पहाडबाट झरेको छ । सकिएपछि उतै फर्कन्छ ।’ त्यो निकै अराजनीतिक थियो । उनी पनि तेह्रथुमबाट झापा गएर चुनाव लडेका हुन् । म सोलुबाट झरेको हुँ । केपीजीलाई अहिले पनि थाहा होला किरातीको छोरा झापातिरै छ । सोलु फर्केको छैन ।

०००

केपी एमाले अध्यक्ष बनेका छन् । उनलाई कार्यकाल सफलताको शुभकामना छ । मैले महाविधेशन अगाडि नै भनेको थिएँ, ‘ओलीले जित्नुपर्छ ।’ केपीले पहिलो भेटमै ममाथि हैकमवादी स्वभाव देखाए पनि झापाकै बासिन्दा भएकाले सद्भाव राखेको हुँ । मसँग चुनावी प्रतिस्पर्धामा पनि पार्टी अध्यक्ष बन्छु, प्रधानमन्त्री बन्छु भनेका थिए ।

अर्कोतिर राजनीतिक रूपमा एमाले नेतृत्वमा केपी आए भने उनको स्वभाव र चरित्रअनुसार वार कि पारको परिस्थितिमा जान्छ भन्ने हिसाब गरेको थिएँ । झलनाथ खनाल र माधवकुमार नेपालको ‘लिङरिङ’ तरिका थियो । न यता न उता हुनसक्ने । केपीको तरिकाले ‘फाइट टु फिनिस’को अवस्थामा जान्छ । संक्रमणकालको अन्त्यका लागि उनको चरित्र मिल्छ । उनले प्रतिक्रान्ति गरे हामी लड्छौँ ।

म त भन्छु, केपीजी प्रतिक्रान्तिकारी विचार त्याग्नुस् । पहिचानसहितको संघीयताविनाको संविधान, मधेस, थारुवान, लिम्बुवान, नेवास् प्रदेशविनाको संविधान लागू हुँदैन । त्यसतर्फ ध्यान दिनुस् र स्विकार्नुस् । नेपाली समाजको वस्तुगत र ऐतिहासिक अवाश्यकतालाई बोध गर्नुस् ।

०००

पहिले–पहिले ‘भेडाको छाला ओढेको ब्वाँसो’को चर्चा सुनिन्थ्यो । अब एमाले कम्युनिस्ट पार्टी रहेन । एमालेको वर्गचरित्र भनेको सामाजिक लोकतान्त्रिक चरित्र हो, जसलाई नेपालमा प्रजातान्त्रिक समाजवाद भन्ने कांग्रेसको पुच्छर मान्न सकिन्छ । एमालेले अहिलेको चुनावमा चिठ्ठा पार्‍यो । हाम्रो गल्ती पनि भयो । यथार्थ पृथ्वी घुम्छ ।

०००

केपीजी अहिले बिरामी छन् । तीन महिनामा तीनपटक उपचारका लागि विदेश गइसके । अध्यक्ष बनेपछि फेरि सिंगापुर गएका छन् । उनी स्वस्थ होऊन् । स्वास्थ्यलाभको कामना छ ।

शिक्षा नियमावलीमा ‘शिक्षकहरू स्वस्थ र निरोगी हुनुपर्छ’ भनिएको छ । राजनीति गर्नेहरूलाई पनि त्यो लागू हुन्छ कि । स्वास्थ्य भन्ने कुरा कसैले चाहेर नचाहेर भन्दा पनि आइपर्ने समस्या हो । यो त सबैलाई आइपर्छ । तर, प्रधानमन्त्रीसमेत रहेका मुलुकको ठूलो पार्टीका प्रमुख, दोस्रो पार्टीका अध्यक्ष तथा दलका नेता पालैपालो उपचारका लागि विदेश गइराखेका छन् । दीर्घरोगी नेताका कारण शान्ति र संविधान निर्माणमा चुनौती थपिएको छ । यो त राष्ट्रको बेइज्जत भइसक्यो । सम्बन्धित पार्टीका नेताहरूले यसमा विचार गर्नुपर्छ । स्वस्थ र खट्नसक्नेहरूलाई नेतृत्वमा ल्याएर अस्वस्थहरूलाई उपचार र आरामका लागि समय दिनुपर्छ ।

प्रस्तुति  मनोज घर्तीमगर

प्रतिक्रिया दिनुहोस्