Logo

अवसरवादको अर्को नाम रुकमांगद कटवाल’



पहिलो संविधानसभाको चुनावपछि ज्येष्ठ सदस्यका हैसियतमा संविधानसभाको पहिलो बैठकको अध्यक्षता गर्ने हुनुभयो, नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले। त्यस बेला राजतन्त्र निलम्बनमा परिसकेको थियो । र, निलम्बित राजतन्त्रको अन्तिम फैसला १५ जेठ ०६५ मा बस्ने संविधानसभाको त्यही पहिलो बैठकले गर्दै थियो ।

गुरुङ आफँै राजतन्त्रवादी नेता हुनुहुन्थ्यो। गणतन्त्रमा जाने पार्टीको निर्णयको अहिले पनि विरोध गररिहनुभएको छ उहाँले। तर, संविधानसभाको बहुमतले गणतन्त्रमा जाने निर्णय गर्‍यो। र, यसको घोषणा राजतन्त्र समर्थक गुरुङले नै गर्नुपर्‍यो। संविधानसभाले गरेको निर्णयको प्रतिकूल जाने ताकत उहाँसँग थिएन। तर, तत्कालीन प्रधानसेनापति रुकमांगद कटवालले आफ्नो आत्मकथामार्फत देखाउन खोज्नुभएको छ, आफ्नै कारण शान्तिपूर्ण रूपमा गणतन्त्र आएको हो। के वास्तविकता रुकमांगद कटवाल: आत्मकथामा उल्लेख भएजस्तो हो त !

 

गणतन्त्रको स्थापना

निश्चय नै, गणतन्त्र घोषणाका बेला नेपाली सेना संविधानको अधीनमा बस्यो। यही भूमिकाकै कारण शान्तिपूर्ण रूपमा गणतन्त्र आयो। खासमा गणतन्त्रका लागि बाटो खुला गरििदनु कटवालको रहर थिएन, बाध्यता थियो। राजतन्त्र राख्न आफूले गरेका भगीरथ प्रयत्नबारे उहाँ आफैँले पुस्तकमा उल्लेख गर्नुभएकै छ। उहाँले चाहेर पनि राजतन्त्र टिक्न सम्भव थिएन।

नेपाली सेनाको माथिदेखि तल्लो तहसम्म गणतन्त्रको पक्षमा उभिइसकेको थियो। यो कुरा त कटवालले लेख्नुभएको पनि छ, 'पीएसओज बैठकमा राजतन्त्रसम्बन्धी कुरा गर्दा गजेन्द्र लिम्बूबाहेक अरू कसैले पनि राजतन्त्र कायम राख्ने कुरा गरेनन्।' यस्तो बेला शान्तिपूर्ण रूपमा गणतन्त्र घोषणा गर्न बाटो खुला गरििदनुबाहेक उहाँसँग अर्काे विकल्प के नै थियो र ?

राजतन्त्र जोगाउन भगीरथ प्रयत्न गरे पनि नसकेका कटवालले दरबारसँग आफ्नो कुनै सम्बन्ध नरहेको झूट दाबी गर्नुभएको छ। उहाँका भनाइमा राजा महेन्द्रले जिल्ला भ्रमणमा जाँदा काठमाडौँ ल्याउनेबाहेक अरू केही गरेका होइनन्। राजतन्त्र रहिरहेको भए उहाँले यो कुरा पक्कै भन्नुहुने थिएन र सक्नुहुने पनि थिएन। बरू आफ्नो राजपरविारसँग कति निकट सम्बन्ध छ भन्ने मज्जासँग व्याख्या गर्नुहुने थियो।

गणतन्त्र आएपछि राजसंस्थासँग आफ्नो सम्बन्ध जति लुकाउन खोजे पनि लुक्न सक्दै सक्दैन। आफूलाई 'असल सल्लाहकार' देखाउन खोज्दा राजतन्त्रसँग उहाँको सम्बन्ध झन् उदांगिएको छ। हङकङमा लियाजो अफिसरका रूपमा रहँदा होस् वा हिले -धनकुटा)मा बाहिनीपतिका रूपमा बस्दा, राजासँग उहाँको कस्तो सम्बन्ध रहेछ भन्ने कुरा पुस्तकबाट थाहा पाउन सकिन्छ। अनि, ज्ञानेन्द्र राजा भएपछि उहाँले कसरी 'एप्रोच' राख्न खोज्नुभएको थियो, यो कुरा पनि लुक्न सकेको छैन। भलै, यो सम्बन्धको चर्चा उहाँले फरक प्रसंगमा गर्नुभएको छ।

उहाँ दरबारमा गएर बस्ने-खाने गर्नुहुन्थ्यो। मुमा बडामहारानी रत्नको उहाँप्रति विशेष ममता थियो र महेन्द्र मञ्जिलमा सहज आवतजावत थियो। उहाँको यस्तो सम्बन्धबारे हामीले धेरैपटक सुनेका थियौँ। उहाँ भने ओखलढुंगाबाट आफूलाई काठमाडौँ ल्याएर पढाउनेबाहेक दरबारले केही नगरेको बताउँदै हुनुहुन्छ।

मानौँ, पुस्तकमा दाबी गरेजस्तै राजा महेन्द्रले काठमाडौँ ल्याएपछि दरबारले उहाँलाई हेरेन रे ! उहाँले दरबारबाट कुनै सहयोग पाउनुभएन रे ! त्यसो भए उहाँले छात्रवृत्तिचाहिँ कसरी पाउनुभयो त ? दरबारको आदेशबिना ओखलढुंगाबाट काठमाडौँ ल्याइएको केटोले छात्रवृत्ति पाउनु सम्भव थियो ? सम्भव थियो भने अरू नेपाली जनताका छोराछोरीले चाहिँ किन यस्तो

अवसर पाएनन् ?

कतिसम्म भने उहाँले '०४६ मा प्रजातन्त्र नआएको भए आफू प्रधानसेनापति हुने थिइनँ'समेत भन्न पुग्नुभएको छ। त्यसो भए दरबारले हुर्काएको मानिस प्रजातन्त्र आएपछि पनि कसरी प्रधानसेनापति हुन सक्यो ? सबैभन्दा बुझ्नुपर्ने कुरा यही छ। कटवाललाई काठमाडौँ ल्यायो, दरबारले। हुर्कायो दरबारले। पढायो दरबारले। अवसर दियो दरबारले। तर, आफूलाई दरबारले मन पराउँदैनथ्यो भन्नुहुन्छ उहाँ। र, बहुदल नआएको भए आफू प्रधानसेनापति हुन नसक्ने पनि भन्नुहुन्छ।

गणतन्त्र आएपछि दरबारले आफूलाई कहिल्यै मन पराएन भनेर उहाँ जसरी पुस्तकमा प्रस्तुत हुनुभएको छ, यो उहाँको पानीमाथिको ओभानो हुने प्रयास मात्र हो। नेपाली सेनामा जनरल हुने अरूले आफू कसरी जनरल भएँ भन्ने कुराको स्पष्टीकरण दिनुपरेको छैन। तर, कटवालले चाहिँ किन यस्तो स्पष्टीकरण दिइरहनुपरेको छ ? यसको कारण प्रस्ट छ, उहाँको दरबारसँगको सम्बन्ध।

दरबारसँगको त्यही निकट सम्बन्धकै कारण उहाँ अन्तिम समयसम्म यसरी हुन्छ कि त्यसरी हुन्छ, राजतन्त्र जोगाउने प्रयासमा लाग्नुभयो। राजतन्त्र जोगाउन राजाका बाबुछोरालाई दायाँबायाँ राखेर 'च्यारटिी' खोल्ने घोषणा गरौँ भन्ने प्रस्तावका साथ तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाकहाँ पुग्नुभयो। यी सबै कुरा आफैँ बताएर उहाँ लाजै नमानी आफ्नो दरबारसँग कुनै सम्बन्ध नरहेको भन्दै सरासर झूट बोल्दै हुनुुहुन्छ।

प्रधानसेनापति प्रकरण

सरकारले प्रधानसेनापतिबाट हटाएपछि आफ्नै बलबुतामा जोगिएको दाबी गर्नुभएको छ, उहाँले। यस्तो दाबी गरेर उहाँले ती शक्ति र संस्थाप्रति कृतघ्नता प्रकट गर्नुभएको छ, जसले उहाँलाई जोगाउन भूमिका खेलेका थिए। आफ्नै क्षमता र बलबुतामा टिक्ने क्षमता थियो भने उहाँले आफूमाथि कारबाही हुने घटना नै हुन नदिनुपर्ने। तर, मन्त्रिपरष्िाद्बाट उहाँ किन बर्खास्त हुनुभयो ? त्यति चलाख, त्यति शक्तिशाली, त्यति लोकपि्रय मानिसले किन कारबाहीको सामना गर्नुपर्‍यो ?

खासमा आफू बर्खास्त हुने थाहा पाएपछि उहाँले विभिन्न शक्तिकेन्द्रलाई गुहार्न थाल्नुभयो। उहाँले स्वदेशी शक्तिकेन्द्रलाई पनि गुहार्नुभयो, विदेशीलाई पनि। सबैको स्वार्थ मिल्यो र कटवाललाई जोगाउने काम भयो।

पुस्तकबाटै थाहा पाउन सकिन्छ, राष्ट्रपति रामवरण यादव पनि २० वैशाख ०६६ को राती साढे १० बजेसम्म बर्खास्त गरएिका कटवाललाई थमौती गर्ने वा नगर्नेे द्विविधामा हुनुहुन्थ्यो। तर, कटवालकै आग्रहमा राष्ट्रपतिलाई समेत अदृश्य शक्तिकेन्द्रबाट फोन गरयिो र भनियो, 'कटवाल हाम्रा पनि प्रधानसेनापति हुन्, त्यसैले जसरी हुन्छ, थमौती गरििदनुपर्‍यो।'

यो कुरा राजनीतिक दलका नेताहरूले पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा स्वीकार गरसिकेका छन्। तत्कालीन भारतीय राजदूत राकेश सुदले पनि यो कुरा सार्वजनिक रूपमै बताइसकेका हुन्। तर, अरूको स्वार्थका लागि टिकाइएका कटवालचाहिँ आफ्नै प्रतापले थमौती भएको सन्देश दिन खोजिरहनुभएको छ।

राजनीति र सेनापति

पुस्तकमा उहाँले निकै व्यावसायिकताको कुरा गर्नुभएको छ। प्रधानसेनापति प्रकरणमा जे गर्नुभयो, त्यो नेपाली सेनाका लागि गरेको दाबी गर्नुभएको छ। तर, त्यहाँ उल्लिखित एउटा प्रसंगबाट नै उहाँ व्यावसायिक हुनुहुन्थ्यो कि राजनीतिबाट अभिप्रेरति हुनुहुन्थ्यो भन्ने कुरा छर्लंग हुन्छ।

पुस्तकमा उहाँले भन्नुभएको छ, 'म एयरपोर्टमा गल्फ खेल्दै थिएँ। कांग्रेस नेता रामवरण यादवले फोन गर्नुभयो। उहाँले भन्नुभयो, पार्टीले मलाई राष्ट्रपतिमा उठाउने भन्दै छ, चिफसा'बले सहयोग गर्नुपर्‍यो।' यादव प्रजातान्त्रिक विचार र तराईका पनि भएकाले आफूले त्यसपछि जंगी अड्डा पुगेर विभिन्न पार्टीका साना-ठूला नेतासँग सल्लाह गरेको कटवालले लेख्नुभएको छ। (पृष्ठ, ४१०)

यसको मतलब हो, कांग्रेसका नेतालाई राष्ट्रपतिमा जिताउन पनि उहाँ नै खटिनुभयो। के प्रधानसेनापतिको बर्दी लगाएको सैनिक अधिकारी यसरी कुनै पार्टीका नेताको चुनाव प्रचारमा लाग्न मिल्छ ? पार्टीविशेष वा व्यक्तिविशेषलाई जिताउन नेपाली सेनाका सामग्री प्रयोग गर्न पाइन्छ ? के यी कुरा सैनिक मर्यादाभित्र पर्छन् ? यसबारेमा के भन्नुहुन्छ, नेपाली सेनाका परमाधिपति राष्ट्रपति यादव ?

यो त राष्ट्रपति चुनावका सन्दर्भमा उहाँ आफँैले चुहाएको कुरा भयो, यसबाहेक राष्ट्रपतिका उम्मेदवार यादवलाई उहाँले अरू सहयोग पनि गर्नुभयो कि !

कोर्टमार्सल: कोमाथि ?

झूटको पनि हद हुन्छ। कतिसम्म भने नेपाली सेनाका अरू जनरलहरूले ममाथि कोर्टमार्सल गर्न माग गरेको तर आफूले त्यसबाट जोगाएको हास्यास्पद दाबी गर्नुभएको छ कटवालले। तर, सत्य के हो भने उहाँ आफैँ मलाई कोर्टमार्सल गर्न चाहनुहुन्थ्यो। जस्तो: 'कुलबहादुर खड्कामाथि कोर्टमार्सल गर्नुपर्छ' भन्ने बेहोराको निवेदन आफैँ तयार पार्नुभयो। र, त्यो निवेदनमा 'पीएसओज' र आफूनिकटका जनरलहरूको हस्ताक्षर गराउने अभियान नै सञ्चालन गर्नुभयो।

सुरुमा उपत्यकामा रहेका नेपाली सेनाका जनरलहरूको हस्ताक्षर गराइयो। त्यसपछि थप हस्ताक्षरका लागि त्यो निवेदन नेपाली सेनाका विभिन्न पृतनाहरूमा पठाउनुभयो। सही नगरौँ, भोलि के हुने हो ! सही गरौँ, 'कुलबहादुर खड्का जर्साबलाई कोर्टमार्सल गर्नुपर्छ' भनेर कसरी सही गर्ने ! नेपाली सेनाका जनरलहरू त्यस बेला साँच्चिकै अप्ठ्यारोमा परे।

कटवाल जुन हर्कत गर्दै हुनुुहुन्थ्यो, यसबाट उहाँ आफैँ कोर्टमार्सलको भागीदार हुनुहुन्थ्यो। किनभने, सैनिक संगठनभित्र कसैका विरुद्धमा जान हस्ताक्षर अभियान गरनिु विद्रोह गरे बराबर हो। सैनिक ऐनले वर्जित गरेको यस्तो विद्रोहको छुट कसैलाई पनि छैन सेनामा। जसले यस्तो गर्छ, सैनिक ऐन अनुसार कोर्टमार्सलको भागीदार हुन्छ।

जतिबेला उहाँ हस्ताक्षर अभियान सञ्चालन गर्दै हुनुहुन्थ्यो, म जंगी अड्डामा आफ्नै कार्यकक्षमा थिएँ। मलाई मेरा स्टाफले सुनाए, 'जर्साबलाई भेट्न अर्काे जर्साब आउनुभएको छ।' कानुन विभागका बि्रगेडियर जनरल र अर्का सैनिक अधिकृत रहेछन्। मैले आफ्नो स्टाफलाई 'उहाँहरूलाई मकहाँ पठाइदिनूस्' भनेँ। उहाँहरू मेरो कार्यकक्षमा छिर्नुभयो। अगाडिको कुर्सीमा बस्नुभयो। नेपाली कागजको फाइल मेरो टेबलमा राख्नुभयो।

उहाँहरू अप्ठ्यारोमा हुनुहुन्थ्यो। केही बोल्न सकिरहनुभएको थिएन। कुराकानी गर्न सजिलो होस् भनेर मैले नै सुरुआत गरेँ, 'तपाईंहरू मलाई कोर्टमार्सल गर्न कोर्ट अफ इन्क्वायरीका लागि आउनुभएको होला, होइन ?'

'त्यही भनेको सर, हामीलाई चिफसा'बले यसरी पठाउनुभयो, के गर्ने…,' उनीहरूले भने।

मैले सोधेँ, 'अहिले कटवाल चिफ कि म चिफ ! संविधानतः चिफ त मै हुँ। किनभने, मलाई सरकारले प्रधानसेनापति नियुक्त गरेको पत्र छ। कोर्टमार्सल कटवालले मलाई होइन, मैले पो उहाँलाई गर्नुपर्ने हुन्छ। मलाई कोर्टमार्सल गर्ने हो भने नेपाल सरकारको निर्णय चाहिन्छ। कटवाललाई गएर तपाईंहरूले यही कुरा भन्दिनूस्।'

यो कुरा कटवाललाई भन्न उहाँहरूलाई अप्ठ्यारो पर्न सक्थ्यो। त्यसैले मैले यो पनि सोधेँ, 'उहाँले मलाई होइन, मैले उहाँलाई कोर्टमार्सल गर्न सक्छु भन्ने कुरा तपाइर्ंहरूलाई भन्न गाह्रो पर्ला। त्यसैले म आफैँ फोन गरेर उहाँलाई यो कुरा भनिदिऊँ ?' उहाँहरूले भन्नुभयो, 'पर्दैन, हामी आफैँ भनौँला।'

मैले आफू विधिवत् प्रधानसेनापति रहेको र कोर्टमार्सल गर्ने नै हो भने कटवालमाथि हुनुपर्ने सन्देश पठाएपछि कटवाल रक्षामन्त्री विद्या भण्डारीको पछि लाग्न थाल्नुभयो, सरकारमार्फत मलाई कोर्टमार्सल गराउन। त्यसपछि कतिपय सार्वजनिक कार्यक्रममा रक्षामन्त्री भण्डारीले भन्न थाल्नुभयो, 'कुलबहादुर खड्कामाथि कोर्टमार्सल हुन सक्छ।'

मलाई वैधानिक सरकारले प्रधानसेनापति नियुक्त गरेको थियो। यससम्बन्धी पत्र मसँग थियो। कानुनी रूपले म कमजोर स्थितिमा थिइनँ। किनभने, त्यस बेलासम्म पनि वैधानिक प्रधानसेनापति म नै थिएँ। कानुनतः नसक्ने भएकैले ममाथि कोर्टमार्सल गर्न सक्नुभएन उहाँले। नत्र आखिरी दिनसम्म फाइल बोकेर कोर्टमार्सलका लागि उहाँले सैनिक अधिकारीहरूलाई दौडाइरहनुभएको थियो।

कटवाल कारबाहीको दिन

प्रधानसेनापतिबाट कटवाललाई बर्खास्त गरेर मलाई कामु प्रधानसेनापति बनाइएपछि जंगी अड्डामा भएको संवादबारे पनि उहाँले झूट बोल्नुभएको छ। उहाँले मलाई 'के छ कमरेड ?' भनेर सोधेको अनि ठूलो डाँको निकालेर मलाई झपारेको दाबी गर्नुभएको छ। वास्तविकता त्यस्तो छँदै थिएन।

त्यस दिन मलाई उहाँले 'कमरेड' भन्ने शब्द प्रयोग नै गर्नुभएको थिएन। जब मैले कामु प्रधानसेनापतिको चिट्ठी पाएँ, म सीधै जंगी अड्डा गएँ। र, पीएसओज बैठक बोलाएँ। सबै पीएसओज मैले बोलाएको बैठकमा आएका थिए। १० मिनेटजति बि्रफिङ गरेँ। त्यसपछि उहाँहरू सबै आफ्नो अफिसमा जानुभयो। एक-डेढ घन्टापछि कटवाल पनि बालुवाटारबाट जंगी अड्डा आइपुग्नुभयो। आएपछि उहाँले पनि पीएसओजहरूलाई बोलाउनुभयो। मलाई पनि बोलाउनुभयो। उहाँले मसँग 'बालुवाटारमा के के भयो ?' भनेर सोध्नुभयो।

मलाई अहिले पनि सम्झना छ, उहाँको अनुहार त्यतिबेला कालोनीलो भएको थियो, उहाँ हडबडाइरहनुभएको थियो। यसको कारण थियो, आफूलाई त्यस्तो शक्तिशाली देखाउने कटवालको त्यस दिन जागिर गएको थियो। उहाँलाई थाहा थियो, आफ्नो जागिर गएको चिट्ठी कुलबहादुर खड्काको हातमा छ।

त्यसैले उहाँले त्यो चिट्ठीमा के छ, त्यसको बेहोरा जान्न चाहनुभयो। मैले त्यो चिट्ठी देखाइदिएँ। चिट्ठी पढ्ने आँट पनि उहाँमा थिएन। त्यसको बेहोरा पढ्न उहाँले लगाउनुभयो, कानुन विभागका प्रमुख जनरल बि्रगेडियर बीएकुमार शर्मालाई। जनरल शर्माले चिट्ठी पढिसकेपछि कटवालले सोध्नुभयो, 'पदोन्नति त दिएको छैन ?' मैले 'छैन' भनेँ। त्यसपछि भन्नुभयो, 'त्यसो भए तपाईं जानूस्।'

त्यो घटना भएको केही छिनपछि म आफैँ उहाँको कक्षमा पुगेँ। उहाँ असन्तुलित देखिनुहुन्थ्यो। म केही कुरा गर्न चाहन्थेँ। तनावका कारण कटवालचाहिँ कुराकानीको मुडमा देखिनुभएन। उहाँ आफैँले भन्नुभयो, 'भो अहिले केही कुरा नगरौँ, म कुराकानी गर्ने मुडमा छैन।' त्यस दिन उहाँको कार्यकक्षमा भएको घटना यत्ति हो। तर, पुस्तकमा उहाँले मविरुद्ध निकै कडा शब्द प्रयोग गरेको दाबी गर्नुभएको छ।

पुस्तकमार्फत आफूलाई शक्तिशाली, स्वाभिमानी र सुरो देखाउन खोज्ने कटवाल वास्तविक जीवनमा कस्तो हुनुहुन्छ भन्ने बुझ्न काफी छ, १ असार ०६५ मा नारायणहिटी दरबारमा भएको घटना। त्यस दिन राष्ट्राध्यक्षको हैसियतमा तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला नारायणहिटी दरबारमा झन्डोत्तोलन गर्दै हुनुहुन्थ्यो। प्रधानमन्त्री कोइराला जब आफ्ना लागि निर्धारति सोफामा बस्नुभयो, प्रधानसेनापतिको औपचारकि पोसाकमा रहेको कटवालले घुँडा टेकेर कोइरालाको खुट्टा समात्नुभयो। कार्यक्रमको प्रत्यक्ष प्रसारण गररिहेका टेलिभिजन च्यानलमार्फत लाखौँ दर्शकले प्रधानसेनापतिले घुँडा टेकेर प्रधानमन्त्रीको खुट्टा समातेको त्यो दृश्य देखेका छन्।

गणतन्त्रअघि जनरल, कर्णेल, मेजर तहका एडीसीहरू राजाको दायाँबायाँ जमेर हिँडेका देखिन्थे। उनीहरूले राजाका अगाडि घुँडा टेकेको कहिल्यै देखिएन। सार्वजनिक कार्यक्रममा घुँडा टेकेर प्रधानमन्त्रीको खुट्टा समात्ने कटवाल भित्री कोठामा 'कोइरालालाई हप्काएँ, ठाडै बोलेँ' भन्ने दाबी गररिहनुभएको छ। स्वर्गवासी कोइराला आफ्नो कुराको खण्डन गर्न आउनुहुन्न भन्ने बुझेरै कटवाल झूट बोलिरहनुभएको छ।

महत्त्वाकांक्षा पूरा नहुँदा

जब प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामा दिनुभयो, त्यसपछि कटवालको महत्त्वाकांक्षा एक्कासि चुलिन पुग्यो। प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री हुनुभयो। उहाँले भित्रभित्रै भन्न थाल्नुभयो, 'माकुनेलाई प्रधानमन्त्री बनाउने मै हुँ। उनी मैले भनेको के मान्दैनन् ? अब मैले जे भन्छु, त्यही हुन्छ।' उहाँले आफूलाई रक्षामन्त्री बनाउने हल्ला पनि चलाउन थालिसक्नुभएको थियो।

४ असार ०६६ को मन्त्रिपरष्िाद्ले प्रधानसेनापतिका सम्बन्धमा पूर्ववर्ती सरकारले गरेका निर्णय रद्द गरेपछि कटवाल विधिवत् प्रधानसेनापतिमा पुनःस्थापित हुनुभयो। त्यसअघि 'आज्ञाले' भन्दै छत्रमानसिंह गुरुङले नेपाली सेनाका कागजातहरूमा हस्ताक्षर गर्ने गर्नुभएको थियो।

पुनःस्थापित हुनासाथ उहाँले सकिन लागेको आफ्नो पदावधि थप्ने लबिङ सुरु गर्नुभयो। तर, पुस्तकमा चाहिँ आफूले गुरुङलाई प्रधानसेनापति बनाउन चाहेको दाबी गर्नुभएको छ, जुन सरासर गलत हो। यो कुरा उहाँपछिका प्रधानसेनापति गुरुङलाई पनि राम्रैसँग जानकारी छ।

कटवाल घुमाएर भन्ने गर्नुहुन्थ्यो, 'संविधान नबनेसम्म नेपाली सेनाको संरचना अहिलेकै जस्तो रहिरहनुपर्छ।' यसको अर्थ थियो, संविधान नबनेसम्म आफैँ प्रधानसेनापति रहिरहनेछु। जब ४ असारमा उहाँ पुनःस्थापित हुनुभयो, त्यसपछि उहाँ पदावधि थप्ने खेलमा लागिहाल्नुभयो।

कटवालको व्यवहारबाट प्रधानमन्त्री नेपाल पनि हैरान हुनुहुन्थ्यो। उहाँ कटवालले आफूलाई माकुने भन्ने गरेकामा अत्यन्त बेखुसी हुनुहुन्थ्यो, जसका बारेमा उहाँले आफ्ना निकटस्थहरूलाई भन्नुभएको पनि थियो। त्यसपछि नै हो, नेपाल नेतृत्वको सरकारले कटवाललाई वास्ता गर्न छाडेको। जब पदावधि सकिएपछि उहाँ घर जानुपर्ने निधो भयो, तब उहाँका महत्त्वाकांक्षाहरू रोकिए।

यदि सामान्य तवरले उहाँको पदावधि सकिएको भए उहाँले सरकारसँग निकै ठूलो 'बार्गेनिङ' गर्नुहुन्थ्यो। जस्तो कि, उहाँले विभिन्न व्यक्तिले सत्ता कब्जा गर्नसमेत सुझाव दिएको पुस्तकमा उल्लेख गर्नुभएको छ। यदि सामान्य तवरले घर जाने स्थिति आएको भए 'आफूलाई यस्तो सुझाव आएको छ' भन्दै बार्गेनिङ सुरु गर्नुहुने थियो। विवादमा परसिक्नुभएकाले उहाँ बार्गेनिङ गर्न सक्ने स्थितिमै रहनुभएन। र, मुलुक ठूलो दुर्घटनाबाट जोगियो।

अहिले उहाँले फलानो नेतासँग यसरी चर्केर बोलेँ, फलानो नेतालाई यस्तो भनिदिएँ भन्नुभएको छ। खासमा यो उहाँको महत्त्वाकांक्षा पूरा नहुँदाको परण्िााम हो। उहाँले मन परेका नेतालाई एकदम राम्रो, चरत्रिवान् भन्नुभएको छ। मन नपरेकालाई 'मैले गाली गरेँ, हप्काएँ' भन्दै प्रस्तुत हुनुभएको छ। कतिसम्म भने उहाँले स्वर्गीय प्रधानमन्त्री कोइरालालाई पनि छाड्नुभएको छैन,। उहाँ भन्ने गर्नुहुन्थ्यो, 'कटवाल खतरनाक मानिस हुन्, यिनलाई टाढा पनि बनाउनुहुन्न र नजिक पनि राख्नुहुँदैन।'

यदि संविधान जारी हुने बेला उहाँ प्रधानसेनापति हुनुहुन्थ्यो भने भन्नुहुने रहेछ, 'संविधानका हरेक धारा मेरा कारणले आएका हुन्, मैले यस्तो भूमिका खेलेको थिएँ। यही कारण यति राम्रो संविधान आउन सकेको हो।' अगतिलो संविधान आएको भएचाहिँ 'यो अरूको कारणले भएको हो, मैले त यस्तो सुझाव दिएको थिएँ' भन्नुहुने थियो। उहाँको पुस्तक पढ्दा सहजै यस्तो निष्कर्ष निकाल्न सकिन्छ। धन्न, त्यतिबेला संविधान बनेन। नत्र, 'संविधान मैले नै बनाएको हुँ' भन्दै अर्काे एउटा परच्िछेद थपेर पुस्तक निकाल्नुहुने रहेछ।

सारमा यो पुस्तक प्रकाशित गरेर कटवालले राम्रै काम गर्नुभएको पनि छ। किनभने, यसमार्फत आमपाठकले थाहा पाएका छन्, अवसरवादको अर्को नाम कटवाल हो भनेर। ती नेताले पनि उनलाई राम्रोसँग बुझ्ने मौका पाएका छन्, जसले एक समय 'महान्' भन्दै कटवाललाई बोकेर हिँड्नुभएको थियो।

सेनाले बोलाएको कार्यक्रममा जाने गर्नुभएको छ कि छैन ?

गएको छैन। व्यक्तिगत मित्रहरूको कुनै कार्यक्रम सैनिक क्लबमा भयो भने पनि म जाने गरेको छैन। तर, छेकबार भएकाले होइन, त्यहाँ जाने वातावरण नदेखेकाले हो।

नबोलाएर हो कि !

त्यस्तो पनि छैन। कहिले निम्तो आउँछ, कहिले आउन्न।

वितृष्णा छ कि सेनाप्रति !

वितृष्णा मान्नुपर्ने कारण छैन। बरू गौरव नै छ, नेपाली सेनाप्रति। किनभने, म त्यही नेपाली सेनाको जनरलबाट अवकाश पाएको नेपाली नागरिक हुँ।

रुकमांगद कटवालको समूहले त्यस बेला मप्रति जस्तो व्यवहार गर्‍यो, त्यसले गर्दा त्यहाँ जान मन नलागेको मात्र हो। तर, यो स्थिति पनि लामो समय रहने छैन।

दिनचाहिँ कसरी बित्दै छन् ?

साधारण रूपले बितिरहेको छ। लमजुङ जाने-आउने गरेको छु। बस्ने व्यवस्था होस् भनेर त्यहाँ सानो घर पनि बनाउन थालेको छु। वषर्ा नहुँदा साताको एकपटक जाने-आउने गरेको छु।

राजनीतिमा लाग्ने योजना छ कि !

सानो तहबाट सुरु गरौँ, मेरो हकमा त्यो सुहाउँदैन। किनभने, नेपाली सेनाको जनरल भइसकेँ। माथिल्लो जिम्मेवारी मलाई दिँदैनन्। किनभने, राजनीतिक दलको नेतृत्व तहमा त्यसले असन्तुलन ल्याउँछ। त्यसैले राजनीतिमा जाने योजना बनाएको छैन।

माओवादीले उपयोग मात्र गर्‍यो भन्ने लाग्दैन ?

त्यस्तो होइन। आफूमाथि कारबाही हुने परिस्थिति कटवाल आफैँले निम्त्याउनुभएको थियो। त्यस बेला म 'सेकेन्ड म्यान’ थिएँ। त्यसैले मलाई कामु प्रधानसेनापति बनाइएको हो। अरू कोही सेकेन्डम्यान भएको भए उही प्रधानसेनापति बनाइन्थ्यो।

तपाईं पनि आत्मकथा लेख्ने योजनामा हुनुहुन्छ कि ?

आत्मकथा त होइन, कुनै घटनाविशेषमा केन्दि्रत भएर केही लेख्ने हो कि भन्ने लाग्न थालेको छ।

 

– कुलबहादुर खड्का

पूर्वरथी, नेपाली सेना

नेपाल साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्