Logo
  बैशाख ६, २०८१ बिहीबार

‘बाध्य भएर प्रतिरोध गरेका हौँ’




मोहन टुडु, एमाओबादी सभासद

सोमबार  ंविधान सभा बैठकमा तपाईँहरू तोडफोड मैँ किन उत्रिनु भएको ?
सोमबार मध्यराति शुरु भएको बैठकमा सत्ता पक्षले बहुमतीय प्रव्रिmया प्रारम्भ गरेपछि एमाओवादी नेतृत्वको मोर्चामा रहेका हामी सभासदहरूले विरोध गरेका हौँ । बाहिर हल्ला भए जस्तो तोडफोड होइन । शिर्ष नेतृत्व बिच वार्ता र छलफल गरेर सहमति गरौँ भन्दा काङ्ग्रेस एमाले गणितीय हिसावमा प्रस्तुत हुनु र संविधान सभाको अध्यक्ष सुवासचन्द्र नेम्बाङ पनि उनीहरू कैँ समर्थनमा लाग्नुले त्यो परिस्थिति सिर्जना भएको हो ।

तपाईँहरूसँग विरोध गर्ने तोडफोड बाहेक अरू माध्यम थिएनन् ?
हामीले शुरुदेखि नै विवादित विषयमा घनिभूत छलफल गरेर सहमति गरौँ भनेका थियौँ । तर संविधान सभामा हाम्रो सङ्ख्या कम भएका कारण हाम्रा कुरा सुनुवाई भएनन् । अन्तरिम संविधानको नियमावली समेत मिचेर सत्ता पक्ष हामीलाई पेलेर जाने मनस्थितिमा पुगेपछि संविधान सभाको बैठक भित्रै विरोध गर्नुको विकल्प रहेन । हामीले त्यहाँ रोष्टम घेरेर बैठक अवरुद्ध गर्नु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हामीले विरोध गरेका हौँ ।
 

तपाईहरू अब संविधान सभा बहिष्कार गर्ने अवस्थामा पुग्न लाग्नु भएको हो ?
होइन । हामी जनताको चाहना अनुसारको संविधान बनाउने पक्षमा छौँ । हामीले संविधान निर्माणको प्रव्रिmयालाई सहमतिको आधारमा अगाडि बढाउनु पर्छ भनेका हौँ । संविधान सभाको मङ्गलबारको बैठकमा पनि हामी गयौँ । हामीले संविधान सभा छाडेका छैनौँ । सत्ता पक्ष बहुमतीय पद्दतिमा लागिञ्जेल हामी प्रतिकार गरिरहन्छौँ ।
 

‘माघ ८’ मा संविधान आउने सम्भावना टर्यो नि होईन ?
हो, माघ ८ मा सत्ता पक्षले गर्दा संविधान आउन सकेन । सबै नियमावली निलम्बन गरेर बल्खु र वालुवाटारमा बसेर संविधान बनाएर मस्यौदा समितिमा लगे र बहुमतीय प्रणालीबाट जारी गर्ने प्रयासलाई हामीले रोकेका हौं । प्रक्रियामा जाँदा सहमति भए पनि १ सय २८ दिन लाग्छ ।
 

संविधान आउँदैन भन्नुको अर्थ ल्याउन दिँदैनौँ भनेको हो ?
जनताले द्वन्द्वको उचित व्यवस्थापन सहित दिगो शान्ति चाहेका छन् । त्यसका लागि राजनीतिक दल बिच सहमति हुन आवश्यक छ । सहमति बिना बनेको संविधानले मुलुकका यावत समस्या सम्बोधन हुन सक्दैनन् । त्यसकारण शीर्ष नेतृत्वले जनतासँग माफ माग्नुपर्छ, सहमतिका साथ संविधान बनाउँछौँ भन्ने वाचा गर्नुपर्छ ।
 

संविधान सभा निर्वाचन मैँ तपाईंहरूले तोकिएको समयमा संविधान बनाउने वाचा गर्नु भएको होइन ?
हो, हामीले दोस्रो संविधान सभामा पनि जनतासँग तोकिएकै समयमा संविधान बनाउने ‘भीष्म प्रतिज्ञा’ गरेका थियौँ । हामीले संविधान सभामा पटक पटक संविधान लेखनका कुरा उठाएका छौँ । संविधानसभामा ६०१ सभासदको दायित्व र अधिकार बराबर छ । तर, हामीले बोलेका कुरा सदनमा सुनुवाई भएन । सत्तापक्ष गैर जिम्मेवार भएका कारण हामीले जनतासँग गरेको वाचा पूरा हुन सकेन ।
तपाईँहरू समय मैँ संविधान आवोस् भन्ने पक्षमा देखिनु भएन नि ?
हामी सहमतिका साथ संविधान आवोस् भन्ने पक्षमा थियौँ र छौँ । जातीय, क्षेत्रीय, वर्गीय, लिङ्गीय लगायत सबै समस्याको स्थायी समाधान गर्ने खालको संविधान बनाउनैपर्छ भन्ने हाम्रो अडान हो । यी कुरा छाडेर संविधान बनायौँ भने देशमा फेरि द्वन्द्व हुन सक्छ ।
तपाईँहरूको माग चाहिँ के हो ?
एकीकृत नेकपा माओवादीको अलग्गै माग केही छैन । पहिलो संविधान सभामा हामी ठुलो पार्टीका रूपमा सत्तामा थियौँ । अहिले प्रतिपक्षमा छौँ । हामीले सुरुदेखि सहमतिमा संविधान ल्याउनुपर्छ भनेका छौँ । सबै क्षेत्र, लिङ्ग, जातीय, वर्गीय समस्याको दिगो समाधान हुने संविधान लेखिनु पर्छ भन्ने पक्षमा छौँ ।
संविधान नबन्नुमा तपाईंहरू आफुलाई निर्दाेष ठान्नु  हुन्छ कि कसो ?
दोष कसको भन्ने नेपाली जनताले राम्ररी बुझेका छन् । पहिलो संविधान सभामा ठुलो पार्टी भएका कारण हामी दोषी थियौँ । अहिले काङ्ग्रेस र एमाले दोषी हुन् । अघिल्लो संविधान सभामा लचिलो भएकै कारण पार्टी फुट्यो । हामी अझै पनि हदैसम्म लचकता अपनाउन तयार छौँ । तर, काङ्ग्रेस एमाले सुँगा रटानमा छन् । काङ्ग्रेस एमालेकै कारण संविधान नबनेको हो ।
 

बहुमतीय प्रव्रिmयाबाट संविधान बन्यो भने के गर्नु हुन्छ ?
त्यो सम्भव नै छैन । अन्तरिम संविधान भन्दा पछि फर्केर नियमावली मिचेर संविधान बन्यो भने त्यो स्वीकार्य हुँदैन । काङ्ग्रेस एमालेले गणितीय हिसाबले दम्भ देखाएर संविधान ल्याउने प्रयास गरे भने सडक र सदनबाट एकैसाथ कडा प्रतिरोध र आन्दोलन चर्कन्छ ।
एमाओवादी आन्दोलनरत मोर्चाको नेतृत्वमा छ ।
 

तर मोर्चा भित्रै राज्यको नामाङ्कनका विषयमा विवाद छ नि ?
त्यस्तो छैन । कुनै ठाउँमा दुई नाम आएका छन् । पूर्वमा कोचिलाले ऐतिहासिक पृष्ठभूमिका आधारमा कोचिला खोजेको छ । लिम्बुवानले पनि लिम्बुवान खोजेका छन् । तर, सङ्घीय राज्य बनेपछि राज्यले नै नामाङ्कन गर्न पाउने विकल्प हुन्छ । नामाङ्कनका विषयमा अहिल्यै कसैले भनेर मात्र हुँदैन ।
 

तपाईँले भने जस्तै एमाओवादीको फुटले संविधान निर्माणमा असर परेको हो ?
पार्टी फुट्ने र एकीकरण हुने विषय घटना व्रmममा भर पर्ने कुरा हुन् । नफुट्नु पथ्र्यो पार्टी फुट्यो । फुटकै कारण संविधान निर्माण हुन नसकेको हो भन्ने होइन । तर, पार्टी नफुटेको भए समयमा संविधान बनाउने कुरामा बल पुग्ने थियो ।
 

अहिले फेरि सडकमा माओवादीहरू मिलेका हुन् ?
पछिल्लो समयमा बनेको मोर्चाले संयुक्त रूपमा गरेको आन्दोलनले उत्साह थपेको छ । नयाँ शक्ति निर्माण भएको छ । यही व्रmममा अगाडि बढे नयाँ शक्ति निर्माण भएर अर्को ध्रुवीकरण हुन सक्छ । पार्टी एकताकै कुरा तत्काल सम्भव नहोला तर जनताको संविधान बनाउने कुरामा माओवादी एकै ठाउँमा आउनु पर्छ भन्ने आवश्यकताको महसुस गरेर एउटै मोर्चामा आएका हौँ ।
 

तपाईँहरू संविधान सभामा हङ्गामा गर्नु हुन्छ । सडकमा टायर बलिरहेको छ । भिडन्तमा जान खोज्नु भएको हो ?
हामी भिडन्तको पक्षमा छैनौँ । काङ्ग्रेस एमाले सहमति बिना संविधान ल्याउने प्रयत्न गरे भने आन्दोलन गर्नुको विकल्प छैन । त्यसैले हामी आन्दोलनमा लागेका हौँ ।
 

आन्दोलनको स्वरूप कस्तो हुन्छ ?
आन्दोलनको स्वरूप शान्तिपूर्ण हुन्छ । तर, सत्तापक्षले दम्भ देखाए भने आन्दोलन कुनै हालतमा रोकिँदैन । एमाओवादी १० वर्षे जनयुद्धबाट जनताका अधिकार स्थापित गराउने प्रण गरेर आएको पार्टी हो । दमन र पेलाइसँग डराउँदैनौँ ।
तपाईंहरू जनताको कुरा गर्नु हुन्छ, आम हड्तालले जनतालाई सास्ती भएको छैन ?
यो आन्दोलन जन संविधानका लागि हो । यसबाट आम जनतामा पर्न गएको असुविधा प्रति सचेत हुँदा हुँदै पनि बाध्य भएर आम हड्तालसम्मको आन्दोलन गर्नु परेको जनताले बुझेका छन् । सबै द्वन्द्वलाई व्यवस्थापन गरेर मात्र दिगो समाधान सहितको संविधान बनाउन सकिन्छ । आन्दोलनमा आम जनताको विरोध होइन, ऐक्यबद्धता छ ।
प्रस्तुति ः राजु पाठक (लोकतन्त्र पोस्ट दैनिक)

 

प्रतिक्रिया दिनुहोस्