Logo

ललिता निवास प्रकरण: पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप



काठमाडौँ, १० साउन । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ ।

उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

सिआइवीले उनीहरूसँग अहिले बयान लिने काम जारी राखेको छ । उक्त घटनामा प्रहरीले विगत एक महिनादेखि अनुसन्धान गरिरहेको छ । कीर्ते तथा सङ्गठितरूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वसरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत २२ जना पक्राउ परेका थिए ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएपछि ब्यूरोले पुन: अनुसन्धान थालेको हो ।

प्रतिक्रिया दिनुहोस्