Logo

सप्तरीका ८१ जना मिटरब्याज पीडितले पाए १२ बिघा १२ धुर फिर्ता



आन्दोलनमा संलग्न पीडित

राजविराज, १३ साउन । जिल्ला प्रशासन कार्यलय सप्तरीमा परेका एक हजार पाँच सय ७९ मिटरब्याजसम्बन्धी उजुरी मध्ये ८१ वटाको टुङ्गो लागेको छ ।

जिल्ला प्रशासन कार्यालयमा केही दिनयता दैनिकरूपमा भएका छलफलले ८१ वटा उजुरी फर्छ्योट गरेको हो । जिल्ला प्रशासनले ८१ वटा निवेदन फर्छ्योट गर्दा साहुलाई चार करोड ७६ लाख पीडितले तिरेका छन् भने दुई करोड ८८ लाख ४४ हजारको तमसुक च्यातिएको छ । पीडितले १२ बिघा १२ कठ्ठा १६ धुर जग्गा फिर्ता पाएका छन् ।

निवेदन उपर जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनले भने, “अहिले दुई ठाउँमा राखेर छलफल भइरहेको छ, छिटोभन्दा छिटो मुद्दा टुङ्गियोस् भन्ने हाम्रो चाहना छ ।”। उनका अनुसार मिटरब्याज पीडितले दिएको निवेदनका आधारमा पीडित र पीडकलाई बोलाएर छलफल गर्ने गरिएको छ ।

पीडित र पीडकको तर्फबाट एक÷एक, जिल्ला प्रशासन कार्यालयका एक जना र जिल्ला प्रहरी कार्यालयका एक जना राखेर छलफल चलाइएको प्रजिअ थापाले जानकारी दिए । आवश्यक पर्दा मालपोत, नापीका कर्मचारीलाई पनि छलफलमा सहभागी गराइने गरेको उनले बताए । उनका अनुसार अहिलेसम्म आठ सय तीन पटक छलफल भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्