Logo

एसिया कप: भारत बङ्लादेशसँग पराजित



श्रीलङ्का, ३० भदौ । एसिया कप क्रिकेटमा सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतलाई ६ रनले हराएको छ ।

शुक्रबार राति सम्पन्न भएको रोमाञ्चक खेलमा भारत बङ्लादेशसँग पराजित भएको हो ।

जितका लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ५ बलमा २ सय ५९ रनमा अलआउट भयो । उसका शुभमन गिलले सर्वाधिक एक सय २१ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बङ्लादेशका मुश्ताफिजुर रहमानले ३ विकेट लिएका थिए ।

त्यस्तै, तान्जिम हसन सकिब र मेहेदी हसनले समान २-२ विकेट लिए । त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्लादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो । बङ्लादेशका कप्तान सकिब अल हसनले सर्वाधिक ८० रन बनाएका थिए भने तौहिद हृदोयले ५४ रनको अर्धशतकीय पारी खेलेका थिए ।

भारतका शार्दुल ठाकुरले ३ तथा मोहम्मद शामीले २ विकेट लिए । एसिया कपमा भारत र श्रीलङ्का उपाधिका लागि खेल्ने यसअघि नै तय भइसकेको छ । फाइनल खेल आइतबार हुनेछ । पाकिस्तान र बङ्लादेश सुपर फोरबाट तथा नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्