Logo
  फाल्गुन १९, २०८० शनिबार

तिजको मौलिकतामा रमाऔँ, भड्कीलो हुनबाट जोगाऔँ



सामाजिक तथा सांस्कृतिक महत्व रहेको हरितालिका तिज नेपाली नारीको एकता र शुःख दुःख साटासाट गर्ने महान पर्व हो । तिज माइतमा दरखने र शुःख दुःखका कुरा गर्ने सांस्कृतिक पर्व हो । तर, पछिल्ला दशकमा तिज मनाउने शैलीमा व्यापक परिवर्तन हुँदै आएको छ । तिज खर्चिलो र भड्किलो मात्र बनेको छैन, प्रदर्शनको माध्यम पनि बनेको छ । तिज फेसन सो र मादकता देखाउने पर्वमा रुपान्तरण हुँदै गएको छ ।

आजभोलि सामाजिक सञ्जाल फेसबुक, टिकटक, युटुयुवदेखि टेलिभिजन च्यानलसम्म तिज कै चर्चा देख्न सकिन्छ । भदौ लागेसँगै सामाजिक सञ्जालमा तिजमा नाजगान गरेका फोटो र भिडियो देख्न सकिन्छ । वर्षमा एक पटक मनाइने पर्व अहिले लगभग एक महिना अघि देखिनै सुरु गर्दछ । तिज भड्कीलो र प्रतिस्पर्धि हुँदा हुनेखाने बर्गलाई सहज भएपनि हुँदा खानेहरुका लागि कस्टदायी बन्दै गएको छ । तिज भड्कीलो हुँदा परिवारिक झगडासमेत हुन थालेको छ । महंगो बन्दै गएको तिज कतिलाई नआए हुन्थ्यो भन्ने लाग्न थालेको छ ।

सीमित स्थानमा मनाइने तिज अहिले चोकचोकमा जात्राको रुपमा मनाउन थालिएको छ । पर्व मनाउनु नराम्रो नभए पनि सामान्य मानिसले तिज मनाउनै नसक्ने हुनु दुःखद पक्ष हो । एक महिनासम्म दैनिक खाइने दरले आर्थिक तथा स्वास्थ्यमा असर गर्दछ । तिज समयानुकूल हुन सक्छ तर साँस्कृतिक मूल्य भन्दा बाहिर गएर मनाउने कुरा जायज हुँदैन । घर, होटल र रेष्टुरेन्टमा हुने सामुहिक तिज कार्यक्रममा गहना र कपडा प्रदर्शन मात्र हुँदैन, भड्कीला संगीत र नृत्यले मौलिक संस्कृतिमा संकट आएको छ ।

महङ्गा गहना र कपडाले तिज खर्चिलो हुँदा कतिका घरमा पारिवारिक झगाडाको निहुँ बनेको छ । कुनै वेला माइत जान नपाएका पीडा चेलिहरुमा हुन्थ्यो भने अहिले राम्रा चिज र महङगा चिज लगाउन नपाएका कथाहरु सुन्न पाइन्छ । अझ माइती घरको वालापन र संगीको याद धेरैलाई हुन छाडेको छ । भीर पाखा, खेतवारी, उकाली ओराली जस्ता कुरा आधुनिक तिजले विर्साउँदै लगेको छ ।

कुनै दिन चेलीहरु माइत जाने विभिन्न वहाना बनाउनु पर्दथ्यो । तर, अहिले माइत जान कुनै आइतवार कुर्नु पर्दैन । त्यसमा पनि एक महिनासम्म मनाइने तिजको स्वरुप नै फेरिएको छ । आधुनिकताका नाममा तिज गीतको मौलिकता हराउँदै गएको छ । तिजका परम्परागत गीत संगीत खुन्नै पाइँदैन ।

फेसबुक, युट्युब जस्ता सामाजिक सञ्चाल हुन् कि टेलिभिजन तीजका गीत सुन्न र हनै पाइन्छ । अधिकांश गीतमा सारी, गहना, मीठा–मीठा खाने कुराका विषय मात्र हुँदेन, यौन र उत्तेजनायुक्त शब्द पनि प्रयोग भएका हुन्छन् । कतिपय भिडियो र तस्बिरमा महिलाहरुले दर भन्दै मादकपदार्थ सेवन गरेको देखिन्छ । तिज मनाउने यस्तो तरिका मौलिक होइन । केही भिडियो व्यङ्गमिश्रित सामग्री पनि हुने गर्दछन् ।

संघ संस्था, पार्टीले नि तिज कार्यक्रम आयोजना गर्ने गर्दछन् । यस्ता कार्यक्रममा तिजको मौलिक संस्कृति भन्दा नेताका भाषण सुन्नु पर्ने हुन्छ । यस्ता सबै खाले जमघटमा महिलाबीच हुने कुरा भनेको गहना र वश्त्र नै हुनु गर्दछ । यस प्रकृतिका गीत हुन् वा कार्यक्रम, यिनले तिजको मौलिक परम्परा र संस्कृतिको संरक्षण होला त ?

ब्रतको अघिल्लो दिन खानुपर्ने दर महिना दिन अघिदेखि खाने कार्य संस्कृति नभएर विकृति हो । यसले आफू–आफूमा रमाइलो गर्ने माहोल त बनाउला । तर, अनावश्यक खर्च बढाएको हुन्छ । चाडपर्व सबैले आफ्नो हैसियत अनुसार मनाउने हो । समाजमा भएका कूरीतिलाई आँखा चिम्लेर लाउन र खानको विषयमा मात्र केन्द्रित हुन मिल्दैन । मंहगा गहना र सारीमा खर्च गर्ने पैसाले समाजमा महिला दिदी–बहिनीको शिक्षा, स्वास्थ्य र जनचेतनामूलक कार्यक्रममा खर्च गरे उपलब्धीमूलक हुन्छ । यसले समाजमा सानो भएपनि परिवर्तन ल्याउन सक्छ ।

हुन त चाडपर्व मान्ने आ–आफ्नै शैली र तरिका होलान् । मनोरञ्जनबिनाको जीवन सार्थक नहोला । तर, अहिले जति समय कपडा र खानपानमा खर्च हुन्छ त्यसको केही अंश समय र पैसा बालबालिका अपहरण, हत्या, हिंसा, वलात्कारविरुद्ध खर्चन सके महिला ंिहंसामा कमी आउन सक्थ्यो ।

तिजमा नाचौँ, गाऔँ, रमाइलो गरौँ तर हामीले हाम्रो सामाजिक दायित्व नभुलौँ । तिजलाई खर्चिलो र भड्कीलो हुनबाट जोगाऔँ, मौलिक साँस्कृतिक पर्वको रुपमा मनाऔँ । देश विदेशी रहनु भएका नेपाली दिदिबहिनीमा नेपाली हरितालिका तिजको मंगलमय शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस्