Logo

देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम



काठमाडौँ, १३ असोज । नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ ।

देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन सुरु गरिएको हो ।

आजदेखि असोज २३ गतेसम्म अनलाइनबाट र २६ देखि २९ गतेसम्म भौतिक उपस्थितिमा प्रशिक्षण दिन लागिएको सहजकर्ता सुस्मिता पाठकले जानकारी दिइन् ।

उनका अनुसार माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका गणितका महत्वपूर्ण पाठ्यवस्तु र त्यसको अध्ययन अध्यापनलाई प्रभावकारी र उपादेयतापूर्ण कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइनेछ ।

सहभागीलाई छ अलगअलग समूहमा विभाजन गरी शैक्षिकशैली सिकाइनेछ भने उनीहरूलाई पनि प्रस्तुतीकरण तथा परीक्षाका शृङ्खला समावेश गराइने तालिमका संयोजक डा जीवन काफ्लेले बताए । यसबाट सिकाइ थप प्रभावकारी हुने विश्वास लिइएको उनको भनाइ थियो ।

निक सिमोन्स फाउन्डेसनको सहयोगमा विगत केही वर्षदेखि समाजले गणितको अध्ययन अध्यापन तथा अनुसन्धानसँग सम्बन्धित कार्यक्रम तथा गतिविधि सञ्चालन गरिरहेको छ ।

हाल गणितको अध्ययन अध्यापनमा देखिएका समस्या, विद्यार्थीको विषयप्रतिको घट्दो रुची तथा पढ्दै गरेकाहरूले पनि उक्त तह पूरा नगर्ने, बीचैमा विषय बदल्ने गरेको वर्तमान अवस्थालाई मध्यनजर गरेर तालिम दिन लागिएको संयोजक काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्